सिनेमामा माइला राई (दयाहाङ) को प्रवेश हुन्छ भर्खरै बुनेका चित्राहरूको भारी सँगै; माइली राइनी (पशुपति राई) दस नङ्ग्रा खियाउँदा पनि ननिख्रिएको एक मुठी सास गाउँ छोडेर कतै लग्दा सन्चले फेर्न सकिन्छ कि! भनेर जीवनको जिजिविसा एउटा सानो पोका, पन्तुरोमा च्यापेर माइला सँगै बसाइँ हिँडेको दुःख लाग्दो दृश्यसित २ घण्टा लामो कथा सकिन्छ।
एउटा सिने निर्देशकले लाखौँ दर्शकको महत्वपूर्ण समय २ घण्टाको सिनेमा बनाएर २/४ सयमा बिक्री गर्नु कम गाह्रो कुरो छैन। यद्यपि सिनेमा बनाउनुको उद्देश्य पैसो मात्र भने होइन । त्यसमा पनि नवीन सुब्बा, जसले १६ वटा फिल्म बनाएको गुगल सर्चमा देखाउँछ। तर बजारमा आएको “नुमाफुङ” मात्र हो। उनी व्यवसायिक सिनेनिर्देशक भन्दानि एमेच्योर निर्देशक हुन।
अधिक चर्चाको ‘नुमाफुङ’ सन् २००२मा रिलिज भएको थियो। त्यो भन्दा अघि सन् १९९१ तिर उनले बनाएको सर्ट फिल्म “तरेबा” र नुमाफुङ दुबै याकथुङ (लिम्बू) जनजाति संस्कृति प्रधान थिए। नुमाफुङ पछि सिनेमा हलमा लाग्ने उनको पछिल्लो फिल्म “गाउँ आएको बाटो,” करिब २२ वर्ष पछि आजबाट रिलिज हुँदैछ। जुन बान्तवा राई संस्कृति प्रधान छ। नविनले सिनेमा बन्ने लोकेसन मात्र फेरेनन, पुरै फरमैट फेरेका छन। अरू बहुजातीय तथा बहुजनजातीय सिनेमाहरू भटाभट बनाउनेछन भनेर आशा एवम् विश्वास गरौँ।
सम्भवत: नवीन सुब्बानै पहिलो सिनेमा बनाउनेमा पर्छन कि नेपाली समाज एकल जातीय (Monoethnic) नभई बहुजातीय तथा बहुजनजातीय हो भनेर (Multiethnic) सिनेमाको पर्दाको माध्यमबाट भन्ने। त्यसकारण नै उनलाई नेपाली सिनेजगतका गेम चेन्जर हुन भनेर बौद्धिक क्षेत्रले चिन्छन।
“बाटो आएको गाउँ” नाउँले नै मेलोड्रामा भन्दा पनि बडी ड्रामा (आर्ट मुभी) जस्तो लाग्यो। मोटर बाटो गाउँमा आउँदा सँगसँगै आएको पब्लिक बसलाई स्वागत गर्न फूलको माला उन्ने, माला लिएर भेलाहुने, पञ्चेबाजा सहित नेताको भाषण आयोजना हुने, गाडीलाई फूलको माला लाई दिएको आदि देख्दा कथा यही विषयमा केन्द्रित हुने रहेछ जस्तो लाग्छ। तर यस्ता अनगिन्ती भिन्न, भिन्न घटना र पात्रहरू माइला, माइली र बाल कलाकार विन्रदे (प्रसन राई) वरिपरि बढी वास्तविक, गम्भीर, र फरक फरक तवर र अर्थमा बुनेको पाउँदा गाउँकेन्द्रित एउटा जीवन्त सिनेमा बनेको रहेछ।
मेलो ड्रामा- हिरो, हिरोनी बीचको ज्यानै लिने/दिने अवास्तविक मया; भिलेनको खेदो, बाउ-आमाको सहमति/असहमति, सकारात्मक र नकारात्मक भूमिकाले भरीएका कथा, गीत र संगीतको रमझम; फाइट, डाङडाङ-डुङडुङ, सेक्सका दृश्य हेरेर मनोरञ्जन हेर्न बानी लागेका दर्शकलाई खल्लो लाग्न सक्छ। बरू यो सिनेमामा त विकासको नाउँमा गाउँ आएको बाटो, ल्याएको सरसामानले दिएको सुविधा, स्वाद, रङ्गिन दुनियाँ र परनिर्भरताले जीर्ण बन्दो गाउँको परिवेश पाइन्छ। नारा, राजनीतिमा भन्दा पनि सूक्ष्म रूपमा माइला राइको दैनिकी र माइली राइनीको जीवन चर्यामा भेट्न सकिन्छ।
मैले पशुपतिका ससाना ओँलाहरू हेरेँ। खुम्चिएका अनुहार, हरपल पिडाले पोलीरहेका ओठ पढेँ। दयाहाङ्को कपाल र घाँटीमा र अनुहारमा पोतीएका गाला हेरेँ, फाटेका पैताला नछिर्ने प्लास्टिकका चप्पल हेँरे। उनिहरू काठमाडौंका कलाकार नभई भोजपुरको कुनै बन्तावा गाउँका गाउँले दैनिकीमा पाएँ। गहिरियर हेर्यो भने आम नेपालीले भनेको, देखेको र भोगेको विकास आम नेपालीको जीवनमा कति अर्थपूर्ण छ? र पनि मरिहत्ते गरिरहेका छौँ। यो द्विविधा आम नेपालीले भोगिरहेको दैनिकी सिनेमाले घाम जत्तिकै छर्लङ्ग बनाउँन प्रयास गरेको पाएँ।
दैनिकी जे जस्तो भएता पनि भविश्यको एउटा सुखद जीवनको आशा र भरोसा छोरो विन्रदेमा माइला राईले हुर्काउन खोजेको थियो। तर अन्ततः त्यही विश्वास “गाउँ आएको बाटोमा” दौडने थोत्रोबसले चोला उठाई दिएको दर्दनाक घटनाले अन्ततः माइला-माइलीको गाउँ शून्य बन्छ। यस्ता घटना नेपाली गाउँको आम नियतिनै हो।
अन्तमा कस्ले जितो, कस्ले हार्यो!? आम दर्शकले खोज्न सक्छन्। कथालेख्ने महेश राई, निर्देशक नवीन सुब्बा, र प्रोड्युसर अमोद राइ यो विषयमा अनुत्तरित छन। त्यसो त हरेक मामला हार र जीतको बाइनरी अपोजिसनमा पाउनै पर्ने हुन्न। अपितु फिल्मको वैचारिकी यदि हर मानव आजको पुँजिवादले फगत एउटा बजारिया वस्तु मानिरहेको, विशेषगरी तेस्राे, चौथो विश्वका, अवस्थामा माइला राईका पिपिरी एकातिर बिक्रि नहुने, अर्काेतिर बहुराष्ट्रिय कम्पनिको रंगिन टिभि किन्न नसकेर बिजोग माइला- माइलीलाई देख्दा, सिनेमा बनाउने मित्रहरू त्यही पुँजीवादको विकृतिलाई चिर्न यत्रो सृजना गरिरहेका छन वा त्यही पुँजिवादको उपभोग्ताबादको प्रचार-प्रसार गर्न “गाउँ आएको बाटो” भएर छिर्न खोजिरहेका हुन! एउटा गम्भीर प्रश्न भने खडा गर्ने रहेछ! तर त्यो बुझ्न सिनेमा भने हेर्नै पर्ने हुन्छ।
जे होस, एउटा बन्तवा राई संस्कृतिको लोकेसनमा एउटा जीवन्त चलचित्र हेरेर नेपाली गाउँले जीवनको भिन्न परिवेश बुझ्न, र बुझाउन आम दर्शकहरूले “गाउँ आएको बाटो,” हेर्न आवश्यक छ। नोगेन!
Discussion about this post