धरान । धरान उपमहानगरपालिका भित्र कार्यान्वयनमा आएको स्थानीय पाठ्यपुस्तक हाम्रो धरानमा बिजयपुरको इतिहास गलत लेखिएको भन्दै मेयर हर्क साङ्पाङलाई सच्याउन ध्यानाकर्षण गरिएको छ ।
लिम्बु विद्यार्थी मंचको अगुवाईमा किरात याक्थुङ चुम्लुङ धरान नगर समिति र सुनसरी जिल्ला कार्यसमितिको संयुक्त हस्ताक्षरित ध्यानाकर्षणपत्रमा पाठ्यपुस्तक भित्र रहेको बिजयपुरको इतिहास गलत लेखिएको भन्दै ध्यानाकर्षण गराएको छ । ध्यानाकर्षणपत्रमा राज्यले मातृभाषा संरक्षणको लागि स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक राख्ने क्रममा धरान उपमहानगरपालिका स्थानीय सरकारले कक्षा–६ अन्तर्गत ‘हाम्रो धरान’ पुस्तकमा उल्लिखित केही तथ्यहरुप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । उक्त पुस्तकको पृष्ठ नं. १२८ को विजयपुरगढी शीर्षकमा विजयपुरका संस्थापक “पाल्पाका सेनवंशी राजा बिजयनारायणले राज्य विस्तारको क्रममा विजयपुरगढीको स्थापना गरेको मानिन्छ” भनी उल्लेख गरिएकोमा खेद प्रकट गर्दछौं भनिएको छ । त्यसैगरी पृष्ठ नं. ९१ को चासोक शिर्षकको अन्तिम अनुच्छेदमा चासोकसंग असम्बन्धित साकेला सिलि उल्लेख भएकोमा ध्यानाकर्षण गराउदै गलत र भ्रामक इतिहास कलिला विद्यार्थीलाई पढाइएको भन्दै आपत्ति जनाएको छ ।
ध्यानाकर्षणपत्रमा पाल्पाका सेनवंशी राजा विजनारायणले राज्य विस्तारका क्रममा विजयपुर गढी स्थापना गराएका होइनन् भनेर स्पष्ट पारिएको छ । आफैमा बिजयपुर गढी होइन र विजयपुरका राजा लथालिङ्गे पनि होइनन् भनिएको छ । गोर्खाली र आर्य शाषकहरूले ‘भताभुङ्गे दरबारका लथालिङ्गे राजा’ भनेर अफवाह फैलाएका मात्र हुन् भनिएको । विजयपुरको इतिहास लिम्बुवानकालीन इतिहाससँग विजयपुरको इतिहास जोडिन्छ भन्दै विजयपुरका संस्थापक विजयनारान राय वि.सं. १६४१–१६६६ सम्म राजा भएका थिए भनेर दाबि गरिएको छ । पत्रमा साङ्लाइङ्का अन्तिम पुस्ताका राजा विजय नारायण राय भनिएको छ ।उनै बिजय नारायणले आफ्नो नाममा विजयपुर राजधानी बनाएका हुन् भनिएको छ । उनी विजयनारायण राय पछि मात्र बिजयपुरमा सेनहरु आएका हुन भनेर दाबि गरिएको छ । विजयपुर आउने पहिलो सेनवंसी राजा लोहाङ सेन हुन् तर विजयनारायण भने सेन होइनन् भनेर प्रष्ट्याएको छ । मोरङ राज्यका शाषक साङलाइङको वंशवृक्ष लिम्बु जातिसंग जोडिन्छ भन्दै साङलाइङका छोरा पुङलाइङ राजा भएको उल्लेख छ । पुङलाइङ पछि कीर्तिनाराण, अपनारायण, जारेनारायण, इङदिङनारायण र विजयनारायण राजा भएको इतिहास जनाएको छ । विजयनारायणले साँगुरीगढी र वाराताप्पाको बीचमा एक शहर बसाए जुन आफनै नामबाट विजयपुर राखेको उल्लेख छ ।
विजयनारान राय बिजयपुरको ठिक उत्तरपट्टीका पहाड र मधेशका राजा हुने सम्झौता गरेको भनाई छ । विजयपुर पहाड र मधेश दुवैको राजधानी बनेको भन्दै पछि, आन्तरिक कलह हुँदा बिजयनारायणले मुरेहाङलाई मृत्युुदण्ड दिए पछि उनका छोरा बाजहाङ(बाजु) रायले प्रतिशोध लिन मकवानपुरका राजा लोहाङ सेनसँग सहायता मागेको जनाएको छ । बाजु रायको युद्धका क्रममा गिद्दे पहाडमा मृत्यु भयो त्यसपछि लोहाङ सेनले विजयपुर कब्जा गरेको उल्लेख छ । विजयपुर–मोरङ कब्जा गरेपछि लोहाङ सेनले आफूलाई त्यहाँका शाषक घोषणा गरेको,बाजु रायका छोरा पानोहाङ खेवाङ (विद्याचन्द्र) रायलाई राजकाजको जिम्मा दिएर मकवानपुर फिरेको त्यसपछि, विजयपुर सेनमकवानवंशको शासन अन्तर्गत आएको इतिहास उल्लेख छ । विजयपुरमा लिम्बुहरु नै शाषन सत्तामा हर्ताकर्ता थिए, जुन १८३१ सम्म कायम रहेको जनाएको छ । सेनकालीन स्याहामोहोरहरूमा सेन राजाका चौतारिया बुद्धिकर्णले विजयपुरबाट रामभक्त पण्डितलाई विसं १८२४ मा र तुलाराम पण्डितलाई १८२९ मा स्याहामोहोर गरिदिएको इतिहास छ । यतिका तथ्यगत इतिहास हुँदाहुँदै पनि पाठ्यपुस्तक लेखकले अध्ययन नै नगरी विजयपुरगढी शीर्षकमा हचुवाका भरमा लेख्नु र हज्जारौं विद्यार्थीहरूलाई गलत शिक्षा दिनु खेदजनक भएको जनाएको छ ।
यस विषयमा अग्रज पत्रकार हर्ष सुब्बाले अहिलेसम्म किरातकालिन इतिहास इमानसिं चेम्जोङले मात्र लेखेको भन्दै त्यसको अध्ययनपछि पाठ्यपुस्तक लेखेको भए विवादमा नआउने बताए । स्थानीय सरकारले गरिएको काम सराहनीय भएको भन्दै सम्बन्धित समुदायसंग छलफल नै नगरि हचुवाको भरमा पाठ्यपुस्तक तयार गरिएको कुरा सुब्बाले बताए । लिम्बु विद्यार्थी मंचका प्रदिप नेयोङले बिजयपुरमा पानी ट्यांकि बनाउने भन्दै सम्बन्धित समुदायलाई नसोधि काम थाल्दा जसरी लफडा भयो त्यहि अवस्था अहिले पाठ्यपुस्तकमा भएको बताए । बिजयपुरको इतिहास र चासोक्संग सम्बन्धित नभएको साकेला राखेकोमा आपत्ति जनाए । त्यसैगरी किरात याक्थुङ चुम्लुङका धरान नगर अध्यक्ष तिर्थ लिम्बुले कक्षा छ बालबालिकाको लागि बिजयपुरको पाठ्यपुस्तक उल्टो लेखिएको बताए । सेनबंशिसंग कुनै इतिहास नजोडिएको भन्दै इतिहास जे छ त्यहि हुनुपर्ने बताए ।उनले पुस्तक तयार गर्न धरानका बुद्धिजीवीहरुले लेखेको भन्ने जानकारी आएको भन्दै चुम्लुङलाई यस बिषयमा नसोधेको दाबि गरे ।
ध्यानाकर्षणपत्र बुझ्दै मेयर हर्क साम्पाङले तत्कालका लागि सम्बन्धिता पाठ अध्यापन नगराउन शिक्षा महाशाखालाई लेखिए पठाएको छ । मेयर साङ्पाङ पुस्तकसंग त असहमति होइन होला नि भन्दै पुस्तक तयारी गर्ने ब्यक्तिसंग समेत छलफल गर्ने आश्वासन दिएका थिए ।
Discussion about this post