दुखसाथ भन्नुपर्छ – IT IS MORE OF THE SAME – बाबुराम भट्टराई

पूर्व अनुमान गरिए झैं विगतमा जस्तै यो बर्ष ( २०८१/०८२) को बजेटबारे पनि सत्तापक्षले ‘सबै ठीकठाक’ र प्रमुख विपक्षीले ‘कार्यान्वन चुनौतिपूर्ण’ ( अर्थात् मूल प्रवृत्ति ठीकै छ!) भनेको सुनियो! यसरी हाम्रो वर्तमान मूलधारको राजनीतिक नेतृत्व देशको कछुवा गतिको विकासभन्दा बाहिर सोच्न सक्दैन र चाहॅदैन पनि!

परन्तु गहिराइमा गएर हेर्ने हो भने एन्डरसनको कथा Emperor’s New Clothes को बालकले झैं भन्नैपर्छ – देशको अर्थतन्त्र लामो समयदेखि जुन गम्भीर संरचनात्मक संकटमा छ यो बर्षको बजेटले पनि त्यसमा सामान्य मलहमपट्टी बाहेक कुनै अग्रगामी फड्कोको संकेत गरेको छैन। बरू वर्तमान गठबन्धन सरकारको अन्तरनिहीत चरित्र झै आआफ्नो चुनावी आधार अनुकूल वाम र दक्षिण पपुलिज्मको खोलभित्र यथास्थितिलाई निरन्तरता दिने काम मात्रै गरेको छ!

केही उदाहरण हैरौं-

हाम्रो जस्तो गरीबी,वेरोजगारी,परनिर्भरता र बहुआयामिक असमानताको दुष्चक्रमा फसेको अर्थतन्त्रमा विगतकै ढाॅचामा चालु खर्च ६१.३१%, पुॅजीगत खर्च १८.९४% र ऋणभुक्तानी १९.७४% कायम राखेर कसरी ‘आर्थिक सुधार’ हुन्छ?

भर्खरै संघीय ढाॅचामा गएको देशमा प्रदेश र स्थानीय तहको निम्ति राजस्वको बाॅडफाॅड र अनुदानको रकम पोहोर भन्दा घटाएर कसरी विकासको जग बलियो हुन्छ?

‘कृषि दशक’ घोषणा गर्ने तर कृषिमा बजेट विनियोजन घटाउने र वैज्ञानिक भूमिसुधार लगायत कुनै संरचनात्मक सुधार नगर्ने कस्तो छलकारी तरिका हो?

IT क्षेत्र विकासमा जोड र दशक घोषणा सकारात्मक लाग्छ! तर हाम्रो जस्तो अल्पविकसित देशमा शिक्षा क्षेत्रको बजेट १५-२०% हुनुपर्नेमा पहिले भन्दा पनि तल अर्थात् १०.९% मा झार्नु र शिक्षा क्षेत्रमा टालटुले सुधार बाहेक आमूल रूपान्तरणको कुनै छनक नआउनु कस्तो विरोधाभाष हो?

रोजगारी वृद्धिवारे कतिपय कर्णमधूर पदावली भए पनि हामीलाई तत्काल आवश्यक पर्ने बर्षेनी ५-७ लाख उत्पादनमूलक नयाॅ रोजगारीको भरपर्दो योजना खै? ६ अर्बको बजेट विनियोजनले २ लाख रोजगारी सिर्जना गर्ने कस्तो तिलस्मी अर्थशास्त्र हो?

बर्षेनी चुलिंदो व्यापार घाटा न्यूनीकरण गर्ने, कस्सिंदो ऋण-पासो खुकुल्याउने, औद्योगीकरणको मन्द वा ऋणात्मक गति द्रूत गतिमा सल्टाउने, बैंक तथा वित्तीय संस्थाको पासोमा फसेका लाखौं साना तथा मध्यम व्यवसायीको उद्धार गर्ने, निजी क्षेत्रको मनोवल र विश्वास बढाउने, ठूलो मात्रामा वैदेशिक लगानी आकर्षित गर्ने र मुख्य रूपमा ‘दुइ अंकको वृद्धिदर दुइ दशक निरन्तर’ हासिल गरेर देशलाई अहिलेको अति कम विकसित अवस्थाबाट विकसित देशको चरणमा फड्को हान्ने मार्गचित्रको खाका वा कमसेकम पत्यारिलो चासो र चिन्ता खै?

अतः दुखसाथ भन्नुपर्छ – IT IS MORE OF THE SAME !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित