पहिचानवादी मोर्चा संगठन विस्तार,धरानमा लिम्बुवान प्रदेश समिति गठन

धरान । जनता समाजवादी पार्टी फुट भएसंगै पहिचानवादी मोर्चाको गठनलाई तिब्रता दिएको छ । धरानमा तत्कालीन जसपा नेपालका लिम्बुवान राष्ट्रिय समितिका अधिकांश सदस्य मोर्चामा रहेसंगै लिम्बुवान प्रदेश समितिमा रुपान्तरण भएको छ ।

धरान स्थित गोर्खा होटेलमा सोमबार पत्रकार सम्मेलनमा तत्कालीन जसपा नेपालका लिम्बुवान राष्ट्रिय समितिका पदाधिकारीको उपस्थिति रहेका थिए । बिज्ञप्तिमा हस्ताक्षर गर्नेमा पनि तत्कालीन जसपाका लिम्बुवान राष्ट्रिय समितिका पदाधिकारीहरुले नै गरेका थिए । प्रदेश समिति संयोजक जेन्टल लावतीले तत्कालीन समितिका अधिकांश सदस्यहरु रहेको दाबि गरे । संगठन बिस्तारमा मोर्चाका संयोजक महेन्द्र लावतीको नेतृत्वमा अघि बढेको छ ।

उपल्लो नेतृत्व वर्गको अलोकतान्त्रिक व्यवहार, सत्तालिप्सा, अप्राकृतिक गठजोड, व्यक्तिवादी चरित्र, एकल निर्णय र निम्नपूँजीवादी चिन्तनका कारण पार्टी दुर्घटनामा परेको

पत्रकार सम्मेलनको बिज्ञप्तीमा पहिचानसहितको संघीयता र समुन्नत राष्ट्रनिर्माणको लक्ष्य लिई देशभरबाट पहिचानवादी शक्तिहरु एकीकृत पार्टी निर्माणका लागि जुटिरहेको अवस्थामा दुर्भाग्यवस पार्टी विभाजन हुन गएको उल्लेख छ । पार्टीका प्रमुख नेताहरु सरकार गिराउने र बनाउने खेलको पछी लागी सत्ता स्वार्थमा लिप्त हुँदै बस्दा पार्टी, पहिचानको मुद्धा र आन्दोलन बिर्सन पुगेको आरोप छ । यो विभाजन सैद्धान्तिक र वैचारिक मतभेदको कारण नभई पार्टी नेतृत्वमा पलाएको पदलोलुप्ता, सत्तामोह र संकीर्णताको उपजको आरोप छ । उपल्लो नेतृत्व वर्गको अलोकतान्त्रिक व्यवहार, सत्तालिप्सा, अप्राकृतिक गठजोड, व्यक्तिवादी चरित्र, एकल निर्णय र निम्नपूँजीवादी चिन्तनका कारण पार्टी दुर्घटनामा परेको दाबि बिज्ञप्तिमा छ ।

जसपा नेपालको नीति, विचार र सिद्धान्तका कुराहरु पार्टी घोषणापत्र र विधानमा सिमित भएको भन्दै व्यवहारमा रुपान्तरण हुन नसकेको दाबि छ । पार्टीले लिएको १० प्लस १ को पहिचानसहितको संघीयताको खाका र प्रदेश निर्माणको लक्ष्य केवल भाषणमा कैद भएको असन्तुष्ट छ । उक्त लक्ष्य प्राप्तीतर्फ बढ्न नेतृत्व अनिच्छुक मात्र देखिएन एकल जातीय  रूपमा आएको सात प्रदेशलाई नै वैधानिकता दिने र संस्थागत गर्ने दिशातर्फ पार्टीलाई डोर्याउन खोजिएको आरोप छ । पहिचानको संरचना र मुद्दालाई ससक्त बनाउन केन्द्रिय समितिमा कहिल्यै छलफलको विषय नबनेको बिज्ञप्तिमा उल्लेख छ । पार्टीको बैठकमा सदस्यहरुले पहिचानको मुद्दाका बारेमा बारम्बार उठाएका सवालहरुलाई सधैं बेवास्ता गरिने असन्तुष्ट आरोप छ ।

बिज्ञप्तिमा पहिचान बिरोधी “समाजवादी मोर्चा” बनाइयो तर पहिचानवादी मोर्चा बनाउने कोशिशसम्म नगरिएको दाबि छ। `मुख्य नेताहरूबाटै चुनावको समयमा गाउँघर पुग्नेक्रममा कहिल्यै पहिचानको मुद्दा उच्चारण गरिएन र अरुलाई पनि पहिचानको मुद्दाको बारेमा नबोल्न भनियो ।´ `पहिचानको मुद्दामा आफू प्रतिबद्ध भएको नाटक गरेर आम जनतालाई भ्रममा राखियो ।´

मुलुकमा भ्रष्टाचार, अनियमितता, घुसखोरी, कमिशनतन्त्र लगायतका वेथिति व्याप्त छन् तर नेतृत्व त्यसप्रति मौन रह्यो, त्यसको बिरुद्धमा बोल्न र आवाज उठाउन नचाहेको आरोप लगाए । मुल नेताले आफू, आफ्ना परिवार, नातागोता, गुट, उपगुट र चाकडी चाप्लुसी गर्ने कार्यकर्तालाई च्याप्ने र पार्टीका इमान्दार नेता कार्यकर्तालाई सधैं किनारामा धकेल्ने काम गरिएको असन्तुष्ट छ ।

“राम्रो र सक्षम” भन्दा संधै आफ्नो नातेदार र चाकडी गर्नेलाई छान्ने गर्दथे

दुबै पक्षका मुल नेताहरू पार्टी एकता र निर्माणको पक्षमा कहिल्यै इमान्दार देखिएनन् । उहाँहरुको ध्यान इमान्दार पुर्वक काम गर्ने नेताकार्यकर्ताहरु प्रति होईन पहिलो, आफैलाई, दोस्रो, आफ्नो नातेदारलाई र तेस्रो, चाकडी चाप्लुसी गर्नेहरुलाई हरेक कुरामा प्राथमिकता दिर्दै आएको पाइयो। दुबै समुहका नेताहरु संधै अन्यौलमा रहँदै आएका छन् । सरकार बाहिर हुँदा पहिचानको मुद्दाको बारेमा बोल्ने, क्रान्तिकारी कुरा गर्ने, मन्त्री भएपछि पहिचानको मुद्दामा मौन रहने, उल्टै आन्दोलन दबाउने कित्तामा उभिदिने । पार्टीको संरचना ७ प्रदेश कि १० प्लस १ लाई कार्यकारी बनाउने भन्नेमा सधैं अन्यौलमा देखिए, दलित शब्द कि सिल्पी भन्नेमा सधैं अन्यौलमा थिए । दुबै पक्षको मुख्य नेताहरू संगठन निर्माणमा भन्दा सेटिङ, नियुक्ति र कमिशनको चक्करमा बढी समय दिने अनि  “राम्रो र सक्षम” भन्दा संधै आफ्नो नातेदार र चाकडी गर्नेलाई छान्ने गर्दथे बिज्ञप्तिमा छ ।

आगामि ०८४ को चुनावलाई समेत लक्षित गर्दै ईलाम उपनिर्वाचनको परिष्कृत मोडेल मार्फत संघर्ष समितिसँग सहकार्य गरी चुनावमा सहभागी भई पहिचानवादीहरुलाई प्रत्यक्ष र समानुपातिक निर्वाचनमा अत्याधिकरुपमा जिताउने रणनीति

कोशी प्रदेश नाम खारेजीको आन्दोलनमा डेढ वर्षदेखि निरन्तर सडकमा रहेको भन्दै तर आन्दोलन पार्टीको मुल एजेण्डा बन्न नसकेको दाबि छ । मूल नेतृत्व पंक्तिको अनिच्छाका कारण सिङ्गो पार्टी आन्दोलनमा संलग्न हुन नसकेको र पहिचानमा आधारित  समितिहरु मात्र सहभागी हुनु परेको ब्यापक असन्तुष्ट छ । कोशी नाम खारेजीका साथै मुक्कुमलुङ लगायत साँस्कृतिक अतिक्रमण विरुद्धका आन्दोलनहरु हुँदैआएको भए पनि ती आन्दोलनहरुप्रति पार्टीको स्पष्ट दृष्टिकोणसम्म बन्न नसकेको जनाएको छ । नैतिक तथा भौतिक समर्थनको कुरा त परै राखौं भन्दै विभाजित दुवैतर्फका नेतृत्वहरुको सत्तामोहले पार्टीका एजेण्डाहरु छाँयामा पर्दै गयो र कोशी प्रदेश नाम लगायतका आन्दोलनको मोर्चामा कहिँ कतै पनि देखा नपरेको आरोप छ । बिग्यप्तिमा त्यसैले विभाजित दुवै खेमाका मूल नेतृत्वहरु पार्टी नीति, विचार, सिद्धान्तप्रति इमान्दार नभएको, लक्ष्य प्राप्ती भन्दा सत्तामोहमा फस्दै गएको र वैचारिक स्खलन आएको घट्नाक्रमले पुष्टि गरिसकेको दाबि छ । पहिचानको मुद्दाको आवरणमा नेतृत्वले सच्चा पहिचान पक्षधर नेता कार्यकर्ता र शुभेच्छुकहरुलाई भ्रममा पारी लक्ष्य प्राप्ती होइन कि सत्ता प्राप्तीका लागि प्रयोग मात्र गर्ने र उनीहरुको राजनीतिक भबिष्य बर्बाद पार्ने राजनीतिक अपराध गरेको प्रष्ट देखिन्छ । त्यसकारण अब जसपा, नेपाल वा जसपा मध्ये कुनै एकको पक्षमा रहनु भनेको आफ्नो अमुल्य जीवन, समय र घर बर्बाद गर्नु मात्र हो भन्ने निष्कर्षमा पुगेका उल्लेख छ ।
यसैक्रममा पहिचान र नयाँ नेपाल निर्माणको मुद्दालाई केन्द्रमा राखी प्रा.डा. महेन्द्र लावतीको संयोजकत्वमा पहिचानवादी मोर्चा मिति २०८१ बैशाख २७ गते घोषणा भएको जानकारी छ । उक्त मोर्चालाई समर्थन गर्दै तत्कालीन जसपा, नेपाल लिम्बुवान राष्ट्रिय समिति नै पहिचानवादी मोर्चामा आवद्ध हुने सगौंरव घोषणा गर्दछौं भनिएको छ । र, सिङ्गो पहिचान पक्षधरहरुलाई एकताबद्ध गर्दै निकट भविष्यमै पहिचानवादीहरुको राजनीतिक शक्तिको रुपमा पार्टी निर्माण गर्दै अघि बढ्ने बिज्ञप्ती मार्फत सार्वजनिक गरिएको छ । पार्टी निर्माण पछि पनि समानान्तर रुपमा मोर्चा जारी राखिने उल्लेख छ । मोर्चाले आन्दोलन र संघर्षका कार्यक्रमलाई प्राथमिकता दिएर अघि बढिने कार्यक्रम तय गरेको छ ।
आगामि ०८४ को चुनावलाई समेत लक्षित गर्दै ईलाम उपनिर्वाचनको परिष्कृत मोडेल मार्फत संघर्ष समितिसँग सहकार्य गरी चुनावमा सहभागी भई पहिचानवादीहरुलाई प्रत्यक्ष र समानुपातिक निर्वाचनमा अत्याधिकरुपमा जिताउने रणनीति लिएको छ ।

बिज्ञप्तिमा स्वायत्त क्षेत्र, जिल्ला, पालिका, वार्ड तथा टोलबस्ति समितिहरु र स्वदेश तथा प्रवासमा रहनुहुने तमाम पहिचानवादीहरुलाई यो मोर्चामा आवद्ध हुन आह्वान गरीएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित