काठमाडौ । इलाममा भएको उप निर्वाचन र जनता समाजवादी पार्टी फुट भए लगत्तै जसपाका सल्लाहकार समेत रहेका महेन्द्र लावतीले पहिचानवादी मोर्चाको घोषणा गरेको हो ।
काठमाडौमा रिपोर्टस क्लबमा गरेर पहिचानवादी मोर्चाको घोषणा भएको छ ।
सम्मेलन तथा प्रेस विज्ञप्तिमा सबै नेपाली जनसमुदायको पहिचानलाई सम्मान गर्दै ती पहिचानहरु राज्य र समाजमा स्थापित गर्ने महान लक्ष्य बोकेको जनता समाजवादी पार्टी नेपाल (जसपा) ले संघीयता र पहिचानको मुद्दा उठाउन नेतृत्वले गरेको योगदानप्रति आकर्षित भएर सो पार्टीमा हामी समाहित भएको उल्लेख छ ।
पछिल्लो समयमा पार्टीका मुख्य नेतृत्वहरु पहिचानले निर्दिष्ट गरेको मुद्दाभन्दा पनि सत्ताको खेलमा लागेको, गैर-लोकतान्त्रिक आचरण अवलम्बन गरेको, पहिचानको आन्दोलनमा सक्रिय नभएको भन्दै आम नेता तथा कार्यकर्ताले महसुस गर्दै आएको जगजाहेरै छ भनिएको छ । सत्ताको खेलका कारण नै पछिल्लो समयमा पनि पार्टी फुटेको अवस्थामा हामी पहिचानवादी कार्यकर्ताहरू कुनै पक्षमा नलाग्ने निष्कर्षमा पुगेका छौं भनिए । जसपा र जसपा नेपाल दुवै पार्टीको पक्षमा नलागी हामी त्यसभित्र र बाहिर रहेका पहिचानवादी शक्तिहरु सबैलाई एकतावद्ध गर्न गराउने काममा लाग्दै नेपालका वर्तमान विचारविमुख, भ्रष्टाचारी, पहिचान विरोधी, देश तथा राष्ट्रघाती र कुशासनका नाइके राजनीतिक दलहरुको विकल्पमा पहिचानवादी, भष्टाचार विरोधी, देशभक्त तथा राष्ट्रवादी, जनताको विकास र संवृद्धिको पक्षधर राजनीतिक शक्ति निर्माण गर्ने कार्यमा लाग्ने निर्णयमा पुगेको उल्लेख छ ।
बिज्ञप्तिमा भनिएको छ, कोशी नामकरण विरुद्धको आन्दोलन, जनताको आध्यात्मिक आस्था र खुवालुङ्, तिम्बुपोखरी, मुक्कुम्लुए जस्ता ऐतिहासिक मुन्धुमी तथा सांस्कृतिक स्थलहरुको अतिक्रमण विरुद्ध, समग्र आदिवासी जनजाति, दलित/शिल्पी, मधेसी, अल्पसंख्यक धर्मालवम्बी, महिला तथा लैंगिक समानता र न्यायका लागि गरिने आन्दोलनमा निरन्तर सहभागी बनी सामाजिक तथा राजनीतिक शक्ति निर्माण गरेर सामाजिक रुपान्तरण गर्ने कार्यमा लाग्ने अठोट गरेका छौं। दुई हसाको छोटो प्रचार प्रसारमै इलाम २ मा संयुक्त संघर्ष समितिको साझा स्वतन्त्र उम्मेदवारले पाएको अपार समर्थन र मतलाई मध्यनजर गर्दै विश्वका धनी तथा गरिव देशमा उर्लेका र समायोजन गरिएका पहिचानको मुद्दा तथा नेपालमा पनि निरन्तर विस्तार भइरहेको पहिचानको आकाङ्क्षालाई हृदयङ्गम गरी आगामी दिनमा समानता र न्यायोचित पहिचानको आन्दोलनलाई सडक, निर्वाचन र आवश्याक अन्य माध्यमबाट पनि अगाडि बढाउन सशक्त भूमिका निर्वाह गर्ने प्रतिवद्धता जाहेर गर्दछौं ।
हाम्रो आन्दोलनलाई गाउँ टोलमा पुर्याउन र आम नागरिकप्रति जवाफदेही रहने, मुद्दा केन्द्रित, समावेशी र लोकतान्त्रिक राजनैतिक शक्ति निर्माण गरेर देशलाई संवृद्धितर्फ लैजाने प्रयास शुरु गर्नौँ। यसका निमित विभिन्न पहिचानवादी दल, संगठन, अभियन्ता र व्यक्तित्वहरुसँग आवश्यकता अनुसार मोर्चावन्दी वा अन्य माध्यमबाट सहकार्य गर्नेछौं । पहिचानमा आधारित १० प्लस १ संरचनाको सुनिश्चितता, सबै समुदायको पहिचानको स्थापना, वर्गीय मुक्ति, समानुपातिक प्रणाली, धर्मनिरपेक्षता, विधिको शासन स्थापना र भ्रष्टाचार नियन्त्रण गर्दै देशलाई संवृद्धि पयतर्फ डोर्याउने हाम्रो लक्ष्य रहनेछ । पहिचानका मुद्दालाई सशक्त बनाउन, विभिन्न समूहमा अलग-अलग रही काम गरिरहेका सम्पूर्ण पहिचानवादी दल तथा शक्ति, संगठन, अभियन्ता तथा व्यक्तित्वहरु सबैलाई नयाँ शिराबाट एकताबद्ध भई अघि बढौँ भनी आह्वान गर्दछौं भनिएको छ ।
Discussion about this post