वैकल्पिक राजनीतिको ‘राप्रपाकरण’

१३ साउन, काठमाडौं । कुनैबेला नेपालमा संविधानसभा र गणतन्त्रको नारा लगाउन मात्र पनि मुश्किल थियो । यस्तो नारा लगाउने कति देशद्रोही ठहरिए, कतिले जेलनेल भोगे । कतिले त जीवन नै गुमाउनुपर्‍यो ।

अहिले हामी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा छौं । यो व्यवस्थामा राजतन्त्र र जनमत सङ्ग्रहको नारा लगाउनेहरुलाई आतंककारी घोषणा गरिँदैन, जेलनेल बस्नुपर्दैन र जीवन गुमाउनु पर्दैन ।
सम्भवतः लोकतन्त्रको सुन्दर पक्ष नै यही हो । जस्तो कि राप्रपाले राजासहितको राजनीतिक व्यवस्थाको लागि खुलारुपमा कार्यक्रम गर्न पाइरहेको छ, शशांक कोइरालाहरु धर्म सापेक्षताको नारा लगाउन पाइरहेका छन् । रवीन्द्र मिश्रहरु धर्म सापेक्षता र एकात्मक राज्य प्रणालीको पक्षमा जनमत सङ्ग्रहको माग गर्न पाइरहेका छन् ।

यसअघि साझा विवेकशील पार्टीका अध्यक्ष मिश्रले संकेत मात्रै गरे पनि अहिले भने खुलम्खुल्लारुपमा संघीयताको खारेजी र धर्मनिरपेक्षताको मुद्दामा जनमत सङ्ग्रहको प्रस्ताव अगाडि सारेका हुन् । उनले घुमाउरो गरी राजाको स्वीकार्यता बढिरहेको पनि तर्क गरेका छन् । जबकि उनकै पार्टीले संविधानवाद स्वीकार्छ । नेपालको संविधानले धर्मनिरपेक्षता, समानुपातिक समावेशीता, गणतन्त्र, संघीयता जस्ता प्रणालीलाई आफ्नो प्रस्तावनामै समेटेको छ ।

मिश्रको प्रश्न मिश्रलाई

मानिसहरूले पर्याप्त आशंका गरेपछि मिश्रले बेलाबेलामा अहिलेको व्यवस्थाप्रतिको प्रतिवद्धता सार्वजनिक रुपमा व्यक्त गर्दै आएका थिए । उनले यही व्यवस्थामा टेकेर अगाडि बढ्ने बताउँदै आएका थिए ।

मिश्रले भनेका थिए, ‘यो संविधान उल्टाउने हाम्रो कुनै मनसाय छैन । यही संघीय संरचना भित्रैबाट यो देशलाई विकास र समृद्धिको बाटोमा लैजान सकिन्छ भन्ने हाम्रो विश्वास हो । कतिपटक उल्ट्याउने संविधान ? नउल्ट्याइएको संविधानलाई टेकेर संसारका कतिपय देशहरु कहाँ पुगिसके । तपाईं र म काम गर्न नसक्ने, हरेकपटक संविधानलाई मात्रै कति चलाउने ?’

झण्डै पाँच वर्षअघि मिश्रले गरेको यो प्रश्न अहिले उनीतिरै फर्किएको छ । उनले व्यक्त गरेको प्रतिवद्धता झूटो ठहरिएको छ । राजनीतिमा व्यक्तिगत इमान्दारिता हुनुपर्छ भनेर उनी आफैंले बनाएको भाष्य भताभुङ्ग भएको छ ।

सम्वर्द्धनवादसँगको साइनो

उपनिर्वाचनमा नराम्ररी पछारिएपछि उनको राजनीतिक महत्वाकांक्षामा ठेस लाग्यो र उनको दिलमा गडेको यही विश्वासलाई छेक्ने पातलो पर्दा थप पातलिन थाल्यो । फागुन तेस्रो साता लुम्बिनीमा बोलाइएको राष्ट्रिय भेलामा उनले पराजयको अप्ठ्योरो टार्न जनमतसंग्रहको मुद्दा उठाउन प्रयास गरे ।

उनीसँग प्रगतिशील विकल्पको सपना देखेर मिसिएकाहरुको प्रतिरोधपछि उनले आफ्नो प्रस्तावलाई पुनः पछाडि हटाए । पार्टीभित्र ‘मोडरेट कन्जर्भेटिज्म’ले टाउको उठाउन थालेको भन्दै केही शीर्ष नेताहरुले पार्टी नै परित्याग गरिदिए ।

मिश्रको विगत र पारिवारिक पृष्ठभूमि राजतन्त्रसँग नजिकबाट जोडिएको छ । उनले कुनैबेला काम गर्ने राष्ट्र बेलायतमा राजतन्त्र र सम्वर्द्धनवादको राजनीतिको बलियो उपस्थिति छ । ‘समाजको परम्परागत मौलिक चरित्रको रक्षा र रुढीवादी नैतिक मूल्यको संरक्षण’ मा जोड दिने विचारधारा हो सम्वर्द्धनवाद ।

मूलतः थोमस हब्सको चिन्तनमा आधारित यो राजनीतिक दर्शन अंगाल्दै बेलायतमा टोरी पार्टी अस्तित्वमा छ । सङ्ख्या सानो ठूलो हुनसक्छ, तर संसारभरी यस्तो विचारसँग नजिक हुने मानिस र राजनीतिक दलहरू अस्तित्वमा छन् । सम्बर्द्धनवाद परिवर्तनबाट डराएका कुलिनहरुको आत्मरक्षाको औजार बन्दै आइरहेको छ । नेपालमा राप्रपाले खुलेरै यो विचारधाराको वकालत गर्छ ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार