बाह्रौं राष्ट्रिय जनगणना र शिङ्सा क्षेत्र भोटखोलाबासी- निमा पोङ्स्युवा

पृष्ठभुमि / परिचय : बहुजातीय भएको देश नेपालमा संखुवासभा जिल्लाको उत्तरी विकट तत्कालीन हटिया चेपुवा किमाथांका गाबिस हालको भोटखोला गाउँपालिकामा बसोबास गर्ने समुदाय पनि एक हो ।

नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ मा यहाँका समुदायको अति सिमान्तकृत ल्होमी (शिङ्साबा) भनेर सूचीकरण गरिएको छ । यहाँका समुदाय देश बिदेश गरेर बढिमा ३० हजार जनसंख्या रहेका छन । नागरिकता ऐन २००९ सालपछिको लेखोटमा तथा जग्गा धनिपुर्जामा सबैको भोटे लेखिएका छ्न।

ल्होमी शिङ्सा भोटेमा विवाद :
नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा ल्होमी ( शिङ्साबा) सूचीकरण भएपछि जातिय संस्था पनि शिङ्सा कल्याण केन्द्र स्थापना भएको छ । पहिलो महाधिवेशन २०६५ सालमा खाँदबारीमा सम्पन्न भएको थियो । विवाद समाधानका लागि समेत भएको महाधिवेशनले जातिय संस्थाको नाम संशोधन गरेर शिङ्सा कल्याण केन्द्र ( भोटे ल्होमी नावा)बनाएका थिए । तर त्यसबाट चुनिएका समितिका केहि ब्यक्तिले महाधिवेशनको म्यान्डेट उलंघन गरेर ल्होमी ( शिङ्साबा) कल्याण केन्द्र बनाएर जिल्ला प्रशासन कार्यालय काठमाडौमा नाम संशोधन गराए । त्यसपछि विवाद जस्ताको तेस्तै रहे । जातिय संस्थाको बिषयमा दोस्रो महाधिवेशन काठमाडौमा पनि त्यही दोहोरीयो र महाधिवेशन स्थगन नै भयो । फेरि पनि स्थगन भएको महाधिवेशनलाई केही ब्यक्तिबाट केन्द्रिय कार्यसमिति गठन गरे । अहिले संस्थाको गतिविधि लगभग शून्य नै छ ।

प्रतिष्ठानमा भोटे भनेर सिमान्तकृतमा छ । विशेषगरि भोटे भनेर बाजुरा जिल्लामा देखाएको छ । भोटे जनजाति समाज जातिय संस्था स्थापना गरि त्यहाँका बासिन्दाले जातिय स्वायत्तको भोट स्वायत्त प्रदेशको माग गरेर आन्दोलन समेत गरेका थिए । नेकपा माओबादिले भोट जडान प्रदेश भनेर खाका पनि अघि सारेका थिए । राज्यपुनर्संरचना समितिले पनि यस बिषयमा छलफल अघि सारेका थिए ।( हेर्नुहोस : संघीय नेपालमा भोट स्वायत्त प्रदेश पुस्तक,……. पुनर्संरचनासम्बन्धी पुस्तक प्रकाशनको लहर चलिरहेका बेला मनाङ, छापका कपिल लामा सङ्घीय नेपालमा भोट स्वायत्त प्रदेश लिएर पाठकमाझ् आएका छन् । लामाले ६ माघ २०६६ मा संविधानसभाको राज्य पुनर्संरचना समितिले प्रस्ताव गरेको जडान प्रदेशको सट्टा ‘भोट स्वायत्त प्रदेश’ र त्यसको राजधानी सिमीकोटको सट्टा ल्होमेन्थाङ हुनु उपयुक्त ठह¥याएका छन् । ऐतिहासिक, राजनीतिक, आर्थिक, सांस्कृतिक र धार्मिक कारणबाट हिमाली आदिवासी÷जनजातिका लागि भोट स्वायत्त प्रदेश उत्तम विकल्प हुने लेखकको तर्क छ ।)
यता नागरिकता प्रमाणपत्र लगायत सरकारी कागजपत्रमा भोटे लेखिएकोले भोटे नै हुनुपर्ने ल्होमी शिङ्साबा होइन भनेर एक समूह लागिपरेका छ्न । ल्होमी भनेर जस्ले लेखे लेख्ने गरे उनिहरुलाई क्रीस्चियन भनेर लान्छना लगाएको छ । यस समुदायमा रहेका प्राय सबै क्रीस्चियनहरुले ल्होमी नै लेख्दै परिचित गराउदै आएका छन । नेपाल सरकार गोरखापत्रको समाबेसी पृष्ठ अंकमा पनि ल्होमी मात्र लेखेर शिङ्साबा शब्दलाई राखिएको छैन । भने भोटे समाबेशी अंक सम्भोटा लिपि सहित बाजुरा तिरका भोटेहरुले प्रकाशन गरिदै आएका छन । बाजुराका भोटेहरुले आफ्ना नामपछी गुरुङ भोटे,विष्ट भोटे,थापा भोटे लेख्दै आएका छन । शिङ्सा क्षेत्रकाहरुले भने पछिल्लो समयमा आएर आफ्ना थर नुप्पा अनि त्यसका उपथर सनरिन्जेन गोम्बुक्पा, थिकेपा/ आलाक्पा र त्यसका उपथर हमुवा,स्याङ्दरा पेज्यपा लगायत लेख्दै आएका छन ।

सरकारी लिखत तथ्यांक :
यहि विवादका बाबजुद आफुलाई ल्होमी भनेर परिचित गराउनेहरुले नेपाली नागरिकता प्रमाणपत्र तथा शैक्षिक प्रमाणपत्रमा ल्होमी नै लेखाउदै आए । यता भोटे तथा शिङ्साबा भनाउदाहरुले भने भोटियापछी वास्तविक आफ्नो थर लेखाउदै आएका छन ।

२०६८ सालको जनगणनामा ल्होमी जाती र ल्होमी भाषा भनेर सूचीकरण भएपछि हाल लोकसेवा लगायत जुनसुकै सरकारी तथ्यांकमा ल्होमी नै उल्लेख गरेर फर्म दर्ता भैरहेका छन । २०६८ सालको जनगणनाले ल्होमि भनेर अर्को जाती थपिएको छ ।

सूचीकरणले ल्याएको विवाद:
नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा भोटे ल्होमी ( शिङ्साबा) भनेर छुट्टाछुट्टै सूचीकरण भएपछि विवाद भएको छ । कुनै जाती सूचीकरणका लागि अझै लागिपरेका छन भने यी जातिलाई दुई दुई वटा सूचीकरण हुँदा बढी भएको छ । प्रतिष्ठानले भोटे भनेर बाजुरा तिर नै देखाएको छ। उनिहरुले परिचीत गराउँदा गुरुङ भोटे,थापा भोटे लगायतले परिचित नै गराउदै आएको छ । संखुवासभा जिल्लाको हालको भोटखोलाबासिको सरकारी अभिलेखमा प्राय सबै भोटे लेखिएको छ । तर प्रतिष्ठानले ल्होमी ( शिङ्साबा) भनेपछि सूचीकरण र सरकारी दस्तावेजमा मेल नखाएपछी केहिले त्यसलाई अमान्य रुपमा लिइदै आएको छ । त्यति मात्र होइन पश्चिम बाजुराका भोटे भनाउदाको जातिय संस्थाकै शाखा शाखा लिएर अगाडि बढिसकेको छ । संस्था र सूचीकरणमा मेल खुवाउन ल्होमीहरुले सरकारी कागजपत्र र शैक्षिक प्रमाणपत्रमा ल्होमी लेखाउदै आएको छ । तर ल्होमी लेखाउनेहरुले भने शिङ्साबा शब्दलाई गौण गराउदै आएको छ । सूचीकरणमा रहेको शिङ्साबा शब्दलाई गोरखापत्रको समाबेसी पृष्ठमा समेत नराखेर सूचीकरणको बैमान गर्ने काम ल्होमीहरुले गरिएको छ ।

सन १६४२ मा सिक्किमको बिषयमा उल्लेख गरिँदा शिङ्सा लेखिएको ऐतिहासिक मानचित्र

प्रतिष्ठानले सूचीकरण गर्दा शिङ्साबा भनेर भारतको दार्जिलिङमामा सन १९१४ मा दर्ता भएको अल इन्डिया शिङ्सा भोटिया एसोसिएसनलाई आधार मानेर गरिएको छ । तर डोरबहादुर बिष्टले आफ्नो पुस्तक पिपुल अफ नेपालमा ल्होमी भन्ने शब्द उल्लेख गरेपछि शिङ्साबासंगै ल्होमी शब्द सहितको सूचीकरणले थप विवाद भएको छ । यता ल्होमी शब्द जस्ले रुचाए उनिहरु ९९ प्रतिशत इसाई धर्मावलम्बी भएको हुनाले ल्होमिहरु क्रीस्चियन हुन भन्ने बिल्ला लगाईदिएको छ ।

शिङ्सा कल्याण केन्द्रको भुमिका:
२०५५ सालमा स्थापना भएको जातिय संस्था सिमित ब्यक्तिको झोलामा बोक्दै आएका थिए । पहिलो महाधिवेशनले माथी उल्लेखित विवादलाई समाधान गर्ने हर प्रयास गरेका थिए ।तर सिमित ब्यक्तिले नै महाधिवेशनले दिएको म्यान्डेट उलंघन गरेर नाम संशोधन गरे । दोस्रो महाधिवेशन पनि सिमित ब्यक्तिको स्वार्थकै कारण स्थगित भै सिमित ब्यक्तिकै चलखेलमा केन्द्रिय समिति गठन गरे ।तर हाल यश संस्थाले गर्नुपर्ने अहंम भुमिका नहुँदा विवाद उत्कर्षमा पुगेको छ । परिणाम बाजुराका थापा भोटे,बिष्ट भोटे,गुरुङ भोटेको संस्थाको शाखा ल्याउन बाध्य भएको छ।

पश्चिम बाजुरा तत्कालीन भोटे जनजाति कार्यसमिति जहाँ थापा भोटे,भण्डारी भोटे,बिष्ट भोटे छन

देशमा राष्ट्रिय जनगणना तथा राष्ट्रिय परिचयपत्र जस्ता महत्वपूर्ण कुरा आइरहँदा यसता गम्भीर बिषयमा मौन बस्नु भनेको ल्होमिकरण जसलाई इसाईकरण भनेर ठोकुवा गर्न सकिन्छ । किनकी सरकारी दस्तावेज तथ्यांकमा ल्होमी शब्द उल्लेख भएको छ भने शिङ्साबा शब्द क्रमिक रुपमा हराउदै गएको छ । भोटे शब्द बिष्ट,गुरुङ,थापा,भण्डारी धारिको कब्जामा छ।

वास्तविकता के हो ? शास्त्रीय लिखित मौखिक आधार :
इतिहास लिखित तथा अलिखितलाई मानिन्छ । हालको नेपाली नागरिकता प्रमाणपत्र नागरिकता ऐन २००९ साल आएपछि मात्र सबैको नागरिकता प्रमाणपत्र पत्रमा भोटे लेखिए । त्यस भन्दा अगाडि आधिकारिक सरकारी दस्तावेजमा एकदुईवटा तमसुकमा बाहेक भोटे ल्होमी छैन ।

ऐतिहासिक रुपमा तत्कालीन सिक्किम देश हुँदादेखिको अवस्था सन १६४२ मा लिइएको एउटा ऐतिहासिक नकसामा हालको भोटखोला भुगोललाई शिङ्सा नै उल्लेख गरेको नक्सा भेटाएको छ । जसको आधारमा पनि शिङ्साबा समुदाय ऐतिहासिक हुन आउँछ । ल्होमी भन्ने शब्द दक्षिणी भन्ने हुन्छ भने यो नावा समुदायसंग छुट्टिदा वा पहिचान परिचित गराउनको लागि भनिने शब्द हो । भोटे शब्द आफैमा व्यापक छ । वास्तवमा भन्ने हो भने तत्काल नेपाल चीन तिब्बत युद्ध हुँद हालको तिब्बतलाई भोट भनेर उल्लेख गरिएको नेपाल तिब्बत चिन युद्धका इतिहासमा पाउन सक्छौ ।त्यसैले भोटे आफैमा आम नागरिक भन्ने अर्थ लाग्छ ।अर्थात भोट्का नागरिक नै भोटे हुन ।यदि भोटे भनेर पहिचान दिने हामी तिब्बती होकि होइन भन्ने स्पष्ट हुनुपर्छ । तिब्बतलाई हाम्रो भाषा `भेत´ भनिन्छ । भेतको बासिन्दालाई `भेप्प´ भनिन्छ । त्यही भेप्प शब्दलाई खस पर्वते भाषामा भोटे भनियो । अब प्रश्न उठ्छ हामी भोटे हो भने भेप्प होकि होइन ? तर नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले भोटेलाई पनि सूचीकरण गरिएको छ । आदिवासीको रुप लिएको छ । भोटे भनेर प्रतिष्ठानले प्रकाशित गरेको पुस्तक नेपालका आदिवासी जनजातिमा पुर्वदेखि पश्चिमसम्म्का हिमाली भेगमा बस्नेहरु हुन भनेर उल्लेख गरेको छ ।

आदिवासी अर्थात मुलबासी हुन उस्को थातथलो नै महत्त्वपूर्ण हुन्छ । अब हामी प्रश्न गर्न सक्छौ कि ल्होमी आदिवासी मुलबासी हो भने प्रतिष्ठानको परिभाषा अनुसार उस्को थातथलो केहो? त्यसैगरी भोटेको थातथलोल के हो त? वर्तमान भोटखोला त हाम्रो ऐतिहासिक भाषिक केहिसंग पनि मेल खाँदैन ।त्यसैले मौलिकतासंग ऐतिहासिक लिखित अलिखित मेल खान आवश्यक हुन्छ ।

हालको भोटखोला ऐतिहासिक शिङ्सा लुङ्बमा लिखितको आधार मौलिकता ऐतिहासिक दस्तावेज नै खोज्ने हो भने शास्त्र तथा बैबाहिक दस्तावेज पल्टाउन जरुरत छ । शास्त्रीय कुरा गर्ने हो भने यहाँ बसोबास गर्ने समुदायको रिब ज्युद अर्थात फरक फरक छ । जस्तै आलाक्पा / थिकेपा,नुप्पा,पोङ्स्युवा,ढाक्तोक्पा,स्यारिङाप्ताक,उलिङ्फेक्प लगायत छन । यिनिहरुको आ आफ्नै `फोल´पुर्खा अर्थात कुल देउता हुन्छ । जस्तै थिकेपाको फोल सिरितोक्तोक, नुप्पाको फोल साङ्जेन साङ्डाक,पोङ्स्युवाको फोल माप्चेबोम्डाक आदि। यहि आधारबाट नै बिहेबारी चल्ने गरिन्छ। घरमा पुजापाठ लुङ्दर लगाउदा यहि फोलको आधारबाट नै गरिन्छ। लुङ्दर लगाउदा पुजापाठ गर्दा र बिहेमा केटिमा लगाईने सिन्दुर जस्तै घिउको ` चेक´ लगाईन्छ त्यतिबेला सम्बन्धित थरको फोल भाकेर लगाईन्छ ।लुङ्दर लगाउदा फोल भाकेर किकि सस ल्हाजलो भनेर जय जयकार गरिन्छ।यहाँ न भोटेको फोल न ल्होमिको फोल न शिङ्साबाको नै फोल हुन्छ।

ऐतिहासिक दस्तावेजको आधारमा अध्ययन गर्दा हामी नेपालको नागरिकता ऐन २००९ साल भन्दा अगाडिको हाम्रै मौलिक लिखित दस्तावेजमा जानुपर्ने हुन्छ । हाम्रो इतिहास बि . स. २००९ यताको हुँदै होइन । त्यसैले हामिले बिहेवारिको लिखित दस्तावेज खोतल्ने वा अध्ययन गर्ने हो भने थप स्पष्ट हुन्छ । हाम्रो चलन अनुसार बिहे गर्दा अन्तिम बागदात गरिन्छ । जसलाई भालिन भनिन्छ । यस अवस्थामा आफ्ना छोरी ज्वाईसंग आखिरी जिन्दगी जाने भयो भन्ने निश्चित गरिन्छ । यतिबेला नाति नातिनी समेत भैसकेको हुन्छ । जब ज्वाईले भालिन गरेर आफ्ना छोराछोरी माइत वा मावलिपक्षबाट आफ्नै थरमा बदल्ने काम गरिन्छ त्यसबेला एउटा लिखत गरिने प्रचलन छ । त्यो हो `जोङ्थ´ । `जोङ ´ भनेको छोरिलाई दिने जाय जेथा अर्थात दाइजो हो । त्यही `जोङ´ वा जाय जेथा लेखिएको विवरणलाई `जोङ्थ´ `जोङ्थो´ भनिन्छ । नेपालमा बिद्यालय खुल्न अगाडी यस क्षेत्रमा गुरुकुल शिक्षाबाट सम्भोटा लिपिको दुबै अक्षर क्षियिक च्युङ्यिक पठाई हुनेगर्थे । यसरी पढेपछि उ लेखन्दास अर्थात बहिदार हुने केही भने गुफा बसेर लामा बिजुवा हुने गर्थे । यसरी गुरु शिक्षा लिएपछि बनेको लेखन्दासले नै त्यो `जोङ्थ´ सम्भोटा लिपिको च्युङ्यिकमा लेख्ने गरिन्थे । त्यही जोङ्थ लेख्ने क्रममा केटा वा ज्वाइँ पक्ष र केटि वा छोरी पक्षको वास्तविक थर उल्लेख गरेको हुन्छ । यो लेखोटमा न भोटे लेखिएको पाईन्छ नत ल्होमी लेखेको पाईन्छ नत शिङ्साबा नै पाईन्छ । त्यहाँ त नुप्पा थिकेपा / आलाक्पा,पोङ्स्युवा बिच भएको वैवाहित सम्बन्ध उल्लेख गरेको पाईन्छ । त्यसैले वास्तविक ऐतिहासिक दस्तावेजको खोज अध्ययन अनुसारको पहिचानमा जानुपर्ने हुन्छ ।

प्रतिष्ठानद्वारा प्रकाशित पुस्तक

यस समुदायको महत्त्वपूर्ण अलिखित आधार भनेको `मोल´ हो । यो एउटा यस्तो अलिखित मौखिक दस्तावेज हो जुन मौखिक रुपमा पुस्तान्तरन हुँदै आएको छ । यसमा धेरै कुराहरु समेटिएका छ्न । मोल जन्म मृत्यु बिबाह शुभ अशुभ दुबै कार्यको लागि अत्यन्त महत्त्वपूर्ण हुन्छ । यो माथी उल्लिखित जोङ्थ वाचन गर्दा हस्तान्तरण गर्दा एक आपसमा नङ मासु जत्तिकै सम्बन्ध भएकोले अनिवार्य छ ।

के छ अन्य जाती समुदायमा :
नेपालमा रहेको आदिवासी मुलबासिको प्राय सबै समुदायमा यस्ता विवाद छ्न । राई समुदाय ६ लाखको जनसंख्यामा याम्फु,नाछिरिङ,कुलुङ राई होइन भनिरहेका छ्न । लिम्बू समुदायमा लिम्बू होइन याक्थुङ्बा हो भनिरहेका छन ।यहाँ धर्ममा विवाद छ । कसैले किरात भनिएको छ भने नयाँ रुपमा युमा धर्म यसै जनगणनाबाट लेखाउने तयारीमा छ । थारु आदिवासीबाट फुटाएर नेपाल सरकारले राना थारु छुट्टै सूचीकरण गरिसकेको छ । गुरुङ भित्र घले समुदायले आफुहरु गुरुङ होइन भनेर घले छुट्टै जाती हो भनिरहेको अवस्था छ। आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा सूचीकरण रहेका थोक्पेगोला,वालुङ,थुदामले नामको पछि शेर्पा नै लेखाएको छ तर आदिवासीको आरक्षण कोटा त्यही सूचीकरणकै आधारबाट लिइरहेका छ्न ।

नागरितमा थर लेखाइ :
नेपालमा नागरिकता ऐन आएपछि लिखित रुपमा आफ्नो नामको पछाडि थर लेख्ने प्रचलन बस्यो । तर नेपालका मुलबासी भुमिपुत्रको हकमा थर नलेखी जाती लेखाईयो । नेपालमा आर्य ब्राह्मण जातले नागरिकताको पछाडी बाहुन ब्राह्मण लेखाएन । उसले नामको पछि अधिकारी,दाहाल,ढकाल,कोइराला,ओलि,खरेल आदि लेखाए । त्यसैगरी नेवारी समुदायले एकदुई बाहेक प्राय सबैले थर श्रेष्ठ,शाक्य,बज्राचार्य,आदि लेखाए । त्यसैगरी छेत्रीको पनि केहिले बाहेक आफ्नै थर थापा,बुढाथोकी,आदि लेखाए ।

पछिल्लो समयमा आएर भने तामाङले आफ्नो थर स्याङ्त,बम्जन,योन्जन लगायत लेख्ने क्रम बढेको छ ।त्यसैगरी लिम्बुले पनि साम्बहाम्फे,मादेन,चेम्जोङ आदि आफ्ना थर लेख्न शुरूवात गरेको छ ।

तत्कालीन आन्तरिक मामिला मन्त्री हिकम कार्की क्षाबेनाङ्ज्यो शिङ्सा क्षोलिङ गुम्बा धरानको शिलान्यासको प्रमुख अतिथि

तत्कालीन नागरिकता ऐन २०६३ ले त नाम थर सच्याउने दफा नै राखिएको थियो । तर त्यसको सदुपयोग भने नेपालका मुलबासिले गर्न चाहेन गराउने चेस्टा गरेन । किनकि यसो गर्दा अल्पसंख्यक भैन्छ भन्ने त्रास छ ।त्यसरी नै आफ्ना थर लोप हुने संभावना बढेको छ । संबन्धित जातिय संस्थाले यसरी थर लेखाउदै आफ्ना जातिमा यी थरहरु हुन्छ्न भनेर राज्यलाई बोध गराउने चेस्टासम्म गरेन । जातिय संस्था राज्यलाई टकराव दिने एउटा अंग हुनुपर्नेमा उ नेपालका राजनीतिक दलको भातृसंस्थाको रुपमा बिकास भएको छ । कुन जाती समुदायको हो भन्ने प्रमाणित गराउन जिल्ला प्रशासन कार्यालयले सिफारिस गर्नुपर्ने हुन्छ । तर जन्मदर्तादेखी लिएर अन्य प्रयोजनमा जातिय संस्थाले गर्नुपर्नेमा तेता ध्यान दिएको छैन । त्यो जिम्मा कर्तव्य सम्बन्धित जातिय संस्था हो तर जिम्मेवारी निभाउन सकिएको छैन ।

अन्त्यमा :
अब समय घर्किसकेको छ । यहाँनेर एकै स्थानका एकै समुदाय तिनवटा पहिचान दिन तयारी अवस्थामा छ । ल्होमी २०६८ सालको तथ्यांकमा अडिग छ भने भोटे पश्चिमी संस्था शाखा ल्याएर अगाडि बढिसकेको छ । तर ऐतिहासिक वास्तविक शिङ्सा/ शिङ्साबा भने रनभुल्ल्मा रहेको छ । ल्होमी ( शिङ्साबा) कल्याण केन्द्रले निकास नदिएको खण्डमा शिङ्साबा आफै पहिचान स्थापितमा नलाग्ने हो भने पुर्खाले गरेको ऐतिहासिक योगदानलाई बालुवामा पानी हालेको अवस्थामा अवस्य पुग्ने छ । आगामी जनगणना मात्र होइन अब सबै दस्तावेजमा आफ्नो नामको पछाडी आफ्नो वास्तविक थर लेखाउनु नै सबैभन्दा महान बुद्धिमानी देखिन्छ । बाह्रौ राष्ट्रिय जनगणनाले थप लोपोन्मुख जाती आगामी तथ्यांकमा आउने छ । नेपाल सरकार तथ्यांक विभागले यसलाई कसरी लान सकिन्छ भन्ने कुरा अर्को आयाम थपिने छ । साथै यस्ता विवादित बिषयमा समाधानको पाटोमा राज्य लाग्नुपर्ने हुन्छ । अन्यथा राज्यले फुटाउ र राज गरको नीति अवलम्बन गरेको देखिन्छ ।

निमा पोङ्स्युवा,धरान [email protected]

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार