साँस्कृतिक सहिद रिदामा र राम्लिहाङलाई सम्झँदै अभियन्ताहरू

केन्ट(यूके) । साँस्कृतिक विद्रोहका कारण तत्कालीन राज्यसत्ताद्वारा मारिएका दुई सहिदहरू रिदामा र राम्लिहाङ आठपहरीयालाई बेलायतका साँस्कृतिक अभियन्ताहरूले स्मरण गरेका छन् । सहादत प्राप्त गरेको १४५ औँ स्मृति दिवसको सन्दर्भमा अभियन्ताहरूले दुई साँस्कृतिक व्यक्तित्वहरूलाई स्मरण गरेका हुन् ।

हिन्दूहरूको ठूलो चाडमध्येको एक दसैँ प्रारम्भ भइरहेकै बेला तत्कालीन समयमा साँस्कृतिक विद्रोहका क्रममा प्रतिरोध गर्दा राणा शाषकहरूबाट मारिएका रिदामा र राम्लिहाङको स्मरण गरिएको अभियन्ता विश्वासदीप तिगेलाले बताए । धनकुटाको चाम्जिबुङका आठपहरीयाद्वय सहिद भएको १४५ र्औँ स्मृति दिवसको अवसर पारेर बिहीबार आसफोर्डमा स्मृति सभा राखिएको उनले जनाए । ‘हिन्दू शाषकहरूले तत्कालीन समयमा पूर्वी लिम्बुवान क्षेत्रका रिदामा र राम्लिहाङलाई दसैँ नमानेको निहुँमा निर्ममतापूर्वक हत्या गरेका थिए,’ किरात याक्थुङ चुम्लङ यूकेका पूर्व सचिव तिगेलाले भने, ‘गैरहिन्दू आदिवासी मूलवासीमाथि थोपरिएको साँस्कृतिक अत्याचारलाई प्रतिरोध गर्दा उनीहरूको हत्या भयो । यसकारण उनीहरूको बलिदान सम्झन एक ठाउँ आएका हौँ ।’ साहित्यकार एवम् राजनीतिज्ञ समेत रहेका तिगेलाले नेपाल बहुजातीय, बहुसाँस्कृतिक र बहुधार्मिक मुलुक भए पनि एकल साँस्कृतिक नीतिका कारण अझै पनि अल्पसंख्यकहरू अन्यायमा परेको बताए ।

यसैगरी, सभामा बोल्दै अर्का अभियन्ता आदिवासी जनजाति साहित्यकार÷लेखक महासंघ, यूकेका संयोजक अमित थेवेले सहिदहरूको बलिदानलाई शक्तिमा रुपान्तरण गर्न साङ्केतिक रूपमा कार्यक्रम आयोजना गरिएको कारण खुलाए । उनले विगत तीन वर्षदेखि प्रत्येक साल यसै समयमा सहिदहरू रिदामा र राम्लिहाङको सम्झना गरिएको जानकारी दिए । ‘गोर्खाली राजा र राणा शाषकहरूले जारी गरेको रुक्का र इस्तियारले लिम्बुवान क्षेत्रमा रहेका याक्थुङ लिम्बु, आठपहरीया, याक्खा लगायतका सबै आदिवासी र गैरहिन्दू समुदायहरूलाई अनिवार्य रूपमा दसैँ मान्ने र पशुवली दिनुपर्ने बाध्यता सिर्जना भएको थियो । अवज्ञा गर्नेहरू दण्डित हुने पनि गर्थे,’ उनले भने, ‘यसैको सिलसिलामा रिदामा र राम्लिहाङले आफ्नो मौलिक पहिचान नछाडेको देखेर हिन्दू शाषकहरूले धनकुटाको चुलीवनमा लगेर झुण्ड्याएर मारे ।’ लिम्बु पत्रकार संघ यूके अध्यक्ष समेत रहेका थेवेले राज्यसत्ताले दसैँलाई साँस्कृतिक नभएर राजनीतिक पर्वका रूपमा प्रश्रय दिएर अन्य धर्मावलम्बीहरूलाई अन्याय गरिरहेको आरोप लगाए ।

त्यस्तै, किरात याक्थुङ चुम्लुङ यूकेका उपाध्यक्ष गणेश इजमले तीन दशकभन्दा बढी समयअघि नै चुम्लुङले संस्थागत निर्णय गरेर मौलिक चाडहरूबारे समुदायलाई सुसूचित गरिरहेको बताए । ‘राज्यसत्ताले राजनीतिक अभिष्ट पूरा गर्न दसैँलाई अस्त्र बनाएको जगजाहेर छ । हाम्रा मौलिक चाडहरूको संरक्षण र प्रबद्र्धनका कुरा गरिरहेका छौँ । यसकारण हामीले राजनीतिक, साँस्कृतिक र भाषिक आधित्पयका लागि थोपरिएका चाडहरूलाई अपनत्व ग्रहण गर्न सकेका छैनौँ,’ उनले थपे, ‘पहिचानको आन्दोलनमा लागेका समुदायले झन् इतिहास र वर्तमानको लेखाजोखा राख्नुपर्छ ।’ याक्थुङ भाषाका सर्जक इजमले सद्भावका लागि सबै चाडपर्व, भाषा र सँस्कृतिहरूलाई राज्य र फरक समुदायले समानताको दृष्टिकोण राखेर व्यवहार गर्नुपर्नेमा जोड दिए । सभामा उपस्थित वीरेन तिगेलाले आफ्नो अस्तित्व र पहिचानको विषय जहाँ बसे पनि महत्वपूर्ण हुने धारणा सुनाए । यूकेमा सन् २०१९ देखि अभियन्ताहरू विश्वासदीप तिगेला, गायक ब्रबिम शेर्मा, किरात धर्म तथा साहित्य उत्थान संघ यूकेका उपाध्यक्ष राजेन्द्र खिम्दिङ, युमा साम्यो अभियन्ता अमित थेवे, व्यवसायी जितेन्द्र चेम्जोङ, चाम्लिङ खाम्बातिम यूकेका पूर्व अध्यक्ष पदम राई, लिम्बुवान राजनीतिकर्मी नवराज काम्वाङ लगायतले साँस्कृतिक सहिद स्मृति सभा राख्न सुरु गरेका थिए ।

नेपालमा पनि सहिदलाई सम्झँदै

साँस्कृतिक सहिद रिदामा र राम्लिहाङलाई गत सालझैँ यस वर्ष पनि आदिवासी जनजाति अधिकारकर्मीहरूले सम्झने भएका छन् । धराननिवासी आदिवासी अधिकारर्मी एवम् पत्रकार निमा पोङ्सुवाले शुक्रबार दसैँको टीकाकै दिन पारेर चार दर्जन बढी अभियन्ताहरू धनकुटाको चुलीवनमा भेला भएर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको सुनाए ।
‘धरानबाट दुई गाडी अभियन्ताहरू धनकुटा जाँदैछौँ । पोहोर सालकै कार्यक्रमलाई निरन्तरता दिन हामी भेला हुनेछौँ । धनकुटाबाट त्यहाँका रैथाने आठपहरीया समुदायका अगुवाहरू पनि जोडिनु हुनेछ,’ मूल थलो संखुवासभा घर भएका पोङ्सुवाले भने, ‘हामी सबै एकत्रित भएर सहिदलाई सम्झनेछौँ । साँस्कृतिक विद्रोहको इतिहासलाई याद गर्नेछौँ ।’ हालको धनकुटा नगरपालिकाको वडा नं. ७ स्थित झुण्डुवाको नामले चिनिने ठाउँमा रिदामा र राम्लिहाङको पूर्ण कदको शालिक समेत रहने गरी एक पार्क निर्माण गरिएको छ । धनकुटा जिल्लाको नगरपालिका, बेलहारा, भीरगाउँ आसपास इलाका आठपहरीया जातिको उद्गम थलो मानिन्छ । हालको तम्मर नदी उत्तर, चित्रे टुटेको डुङडुङे दक्षिण, लम्बु खोला पश्चिम, माङ्गाया खोलापूर्वको चार किल्लाभित्र यी जातिले आठ किल्ला निर्माण गरी आठै प्रहर पहरा दिने गरेका कारण समुदायलाई आठपहरीया या अठप्रे भनिएको जनश्रुति चर्चित छ ।

पत्रकार एवम् इतिहासका अध्येता राजकुमार दिक्पालका अनुसार वि.सं. १९३३ मा दसैँ नमान्दा रिदामा र राम्लिहाङ आठपहरीयालाई तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको आदेशमा धनकुटामा झुण्ड्याएर मृत्युदण्ड दिइएको लेखेका छन् । उनले लेखेको एक लेखमा १८३९ को साउनमा रण बहादुर शाहले खजुम राय, श्रीदेउ राय, आतहाङ राय र रैनसिंह रायलाई लालमोहर तथा रक्का जारी गर्दै नगरा निशान दिएको उल्लेख गरेका छन् । ‘यस्तै, १८४० जेठमा रुक्का जारी गर्दै रणबहादुरले शत्रुसँग लड्न भनी लिम्बु शाषकहरू रैनसिंह राय, श्रीदेउ राय र आतहाङ रायलाई काठमाडौँ झिकाएर शान्ति स्थापना गर्न भन्दै हातहतियारसहित नगरा निशान दिए,’ दिक्पाल लेख्छन्, ‘१८४० मा लिम्बुवानमा श्रीजङ्ग पल्टन स्थापना भएको देखिन्छ । नगरा निशान लिएपछि दुर्गा पूजा र दसैँ मान्नुपर्ने अनिवार्यता थोपरियो । नित्य पूजा र दसैँमा पञ्चवली पूजाका लागि २२ मुरीको गुठी राखेको र दसैँमा पञ्चवली दिनु भन्ने आदेश रुक्कामार्फत दिइएको छ ।’

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार