दशै जबर्जस्ति लादिएको चाड,परिणाम रिदामा र राम्लिहाङ मर्नुपर्‍यो – निमा पोङ्स्युवा

 

पृष्ठभुमि :
हरेक वर्ष हिन्दु धर्मावलम्बीले मनाउने चाड दशै जब आउँछ अनि लामो सार्वजनिक बिदा र राज्यले एकतर्फी सबै श्रोत साधन लगानी गर्छ अनि बाँकी धर्मावलम्बी र समुदाय राज्यबिरुद्ध आवाज बुलन्द गर्न थाल्छ । जुनसुकै चाडपर्व जात विषेश र धर्म विशेष अनुसार नै हुन्छ । दशै भन्ने चाड हिन्दु धर्मसंग सम्बन्धित छ । तर यहाँनेर नेपालीहरुको महान चाड दशै भनेर जबर्जस्ति लाद्ने काम भएको छ । हिन्दु धर्मावलम्बी बाहेक नेपालमा रहेका आदिवासी मुलबासिको चाड दशै हुँदैहोइन ।नेपालमा हिमालदेखी त्यहाँका मुलबासिको चाड आ आफ्नै रहेका छन । लोसर,साकेला,चासो,यमरी पुन्ही,सिरुवा पर्व,लदि पुजा,चासुवा,फोलष्याँदर लगायत छन । नेपाल बहुजातीय बहुभाषिक बहु सांस्कृतिक भएको देश हो । नेपालमा हिन्दु धर्म प्रवेश गर्नु अघि दशै चाड पनि थिएन र मान्ने प्रचलन हुने कुरा पनि भएन । अझै पनि दशैको प्रभाव पहाडी भेग र हिमाली भेगमा त परेकै छैन।यो चाड कसरी मनाईन्छ के के गरिन्छ भन्ने विधिबिधान नै थाहा नभएपछी दशै मान्ने कुरै आउदैन । दशै एक शासकले नेपाली मुलबासिमाथी जबर्जस्ति रुपमा लादिएको भनेर हरेक वर्ष दशैको मुखमा यसको समर्थन र बिरोध भैरहन्छ । दशैलाई नेपालको मौलिक चाड नभै भारतबाट आयातित चाड हो भनेर विभिन्न बिद्वानहरुले तर्क गरेका छन। नेपालमा आर्य जातको प्रवेश संगै दशै चाड पनि भित्रिएको दाबी विभिन्न बिद्वानको छ।

कस्को हो त दशैं?
भन्नलाई नेपालीहरुको दशैं भनिए पनि समग्र संपुर्ण नेपालीको दशैं होइन। दशै हिन्दु धर्मसंग सम्बन्धित रहेकोले बिशेषगरि हिन्दु धर्मावलम्बी आर्य बाहुन जातको चाड नै दशै हो। दशैंको संपुर्ण पुजा आजा नै हिन्दु धर्मसंग सम्बन्धित छ।दशैको पहिलो दिन घटस्थापनाबाट शुरु हुने दशै दशमी तिथि मुख्य दिन नै हिन्दुसंग सम्बन्धित रहन्छ । हिन्दु धर्मावलम्बीले मान्ने दशै चाड हो । हिन्दुहरुको महान चाड दशै हो तर सबै नेपालीको चाड होइन । नेपालमा २०६८ सालको जनगणना अनुसार बाहुन छेत्रीको जनसंख्या करिब ३० प्रतिशत भएकोले पनि अन्य जाती समुदायले नगन्य रुपमा मान्ने गरेको हुनाले पनि सबै नेपालीको चाड दशै होइन।

दशै चाड जबर्जस्ति लादिएको हो त?

दशै चाड नेपाली मुलबासी समुदायको मौलिक चाड नभएको कारण शासकले जबर्जस्ति लादिएको हो भनेर सर्वब्यापी रूपमा बिरोध छ । दशैको विरुद्ध सन १८४६ अर्थात बिक्रम सम्बत १९०२ सालमा नै अरुणपुर्व लिम्बुवानमा हिन्दू संस्कार–संस्कृतिविरुद्ध युद्धको घोषणा दशैं बहिष्कारबाट भएको थियो । पछि यसको नेतृत्व नै धनकुटाका आठपहरिया रामलीहाङ आठपहरिया र रिदिमाहाङ आठपहरियाले गरेका थिए ।

तत्कालीन अवस्थामा राणाहरुले दशै मनाउनको लागि उर्दी जारी गरिएको हुन्थ्यो। दशै मनायो कि मनाएन भनेर जान्नको लागि गाउँ घरमा हातको छाप लगाउने गरिन्थे।राणाहरुले सबैले दशै मनाएको छ कि छैन भनेर जान्नको लागि रगतले पोतेको हातको छाप ढोकामा लगाउनुपर्ने नलगाए कार्वाहीको भागिदार हुने गरेका थिए।पछिल्लो समयमा आएर पहाडी भेगमा रगतको सट्टा सेतो कमेरो माटोले लिपेको घरमा रातो माटोको हातको छाप पनि लगाउन थाले। राजा रणबहादुर शाहका पालामा राणाहरुले दशै मनाएको छ कि छैन भनेर बुझ्नको लागि सुराकी पठाउने काम गरिन्थे।त्यही सुराकी गर्ने ब्यक्ति नै आजको जोगि भएर हिडिरहेका छन भनेर दाबी गरिएको छ।राजा रणबहादुर र राणाहरुले पुर्वका आदिवासी मुलबासिमाथी जासुसी गर्नकै लागि जोगि प्रयोग भएको पछि जोगि संस्कार प्रथाको रूपमा परिणत भएको दाबी पनि विभिन्न बिद्वानको छ।

हरेक वर्ष दशैको समयमा यसरी नै दशै मनाएको छ कि छैन भनेर सुराकी पठाउने क्रममा धनकुटा जिल्लामा एउटा घटना घटे।किरात आठपहरिया समाजले उल्लेख गरे अनुसार बिक्रम सम्बत १९२४( सन १८६७) को असोज महिनाको समय थियो। मुलबासी आदिवासी आठपहरिया समुदायले देउरालीमा पानी चढाउने गर्थे।आफ्नै भाषा,संस्कार,संस्कृति भएको आठपहरिया जातिको छ। धनकुटा ७ खाम्चेखोलाको पानी धनकुटा ८ चोंग्शोंग्मा बनको देउराली आडुबा उत्पतिमा पानी चढाउने चलन भए अनुसार असोज महिनामा पनि पानी लगेर देउराली आडुबामा लगेर लिप्ने तयारीमा रिदामाहाङ र राम्लिहाङ लागेका थिए। तसर्थ सन् १८६७ को अशोज महिनामा धनकुटा ८, सानङगोको द्वय रिदामाहाङ आठपहरिया र रामालीहाङ आठपहरियाले खाम्चेखोला को पानी चोंग्शोंग्मा बनको देउराली आडुबा उत्पतिमा लिप्नको लागि लिन गएका थिए।उक्त बेला दशैको नवमिको दिन थिए। दशै मान्नुको सट्टा पानी चढाउने कुरा राणा शासकहरुले थाहा पाए।सुराकी गर्ने राणाका मान्छेले दशै नमानेको भन्ने कुरा लगाए । त्यसपछि राणाका सेनाहरुले दशैँ मनाउना उर्दी छ भन्दै टिका लगाउन खोजे । अष्टमिको दिन मार हान्ने महानवमिको दिन बोका, राँगा, खसि, काटेर बली चडायो कि चडाएन भनी घर घरमा जाँच गर्न पुलिसहरु आएका थिए । जुन समय आलो रगत लागेको ५ औंलाको छाप लाउनै पर्ने नियम थियो । त्यस समय आठपहरिया हाङ द्वय पुजारीहरुले हाम्रो आफ्नै चाड छ हामी दशैं चाड मनौदैनौ भनी इन्कार गरेका थिए । हाम्रो हुकुम पालना नगरेको भन्दै उनिहरुलाई लात हान्दै लगेर झुण्ड्याए ।यसरी दुई जनालाई निर्मतापुर्वक हत्या गरे । त्यसपछि रिदामाहांग आठपहरिया र रामालिहंग आठपहरिया कै आलो रगत चामलमा मुछेर टिका बनाइ अरुलाई जबर्जस्ति निधारमा जबरजस्ती लगाइदिए । त्यतिले मात्र नभई त्यही रगतले ५ औंलाको छाप प्रत्येक घरको मुल ढोकामा हानियो । रगतको टीका  सम्पूर्ण आठपहरिया जातिहरुलाई लगाउन लगाई। चिनोको रुपमा ढोकाको दलिनमा आलो रगतले चिनो लगाउन उर्दी लगाइयो ।यसरी उक्त दिन राणा शासकबाट दशै नमनाएको भनेर दुईजनाको हत्या गर्दै दशै पर्व जबर्जस्ति लाद्न खोजियो । तत्कालीन हिन्दू अतिवादी राज्यसत्ताद्वारा १८६७ मा शहिदहरु रिदामाहांग आठपहरिया र रामालीहांग आठपहरियाहरुलाई झुण्ड्याएर हत्या गरिएपछिको त्यो ठाउँलाई झुण्डुवा भनेर चिनिन्छ । हालको धनकुटा नगरपालिका वार्ड नं ७, स्थित त्यो ठाउँलाई झुण्डुवाको नामले चिनिन्छ भने रिदामा र राम्लिहाङको पुर्ण कदको शालिक समेत निर्माण गरिएको छ।

प्रथम सहिद घोषणा माग:

धनकुटा जिल्लामा मात्र रहेका एकमात्र आदिवासी मुलबासी आठपहरिया जाती हुन।यिनिहरुको आफ्नै छुट्टै भाषा संस्कार संस्कृति परम्परा छ्न।धनकुटाको नगरपालिका, बेलहारा र भिरगाउँ आसपासमा आफ्नो उद्गम स्थल तथा बसोबास गरिने मुख्य स्थान हो।हालको तमर नदी उत्तर, चित्रेटुटेको डुङडुङे दक्षिण (हाल तेह्रथुमको) तम्बु खोला पश्चिम, माङ्माया खोलाको पूर्व यति चार किलाभित्र यी जातिको विषेश बसोबास रहेको पाईन्छ।यी चारकिल्ला भू–भागको रक्षार्थ आठ किल्लाको निर्माण गरी आफ्नो समग्र परिवारसहित आठै प्रहर पहरा दिने गर्दथे । जसको कारण नै यो जातिलाई आठपहरे (आठपहरिया) भनिएको हो । किरात आठपहरिया समाजले दशै नमान्दा राणा शासकबाट मारिएका रिदामाहाङ र राम्लिहाङलाई प्रथम सहिदको माग गरिएको छ। मिति र घटनाको आधार मान्ने हो भने पनि प्रथम सहिदको दाबेदारको रुपमा रिदामा र रामलोहाङ नै हुन आउँछ।

नेपालमा प्रथम सहिद लखन थापालाई बिक्रम सम्बत १९३३ साल फागुन २ गते गोर्खाको मनकामनामा ७ जनालाई मृत्युदण्ड दिएको भन्दै प्रथम सहिदको माग गरेका थिए।लखन थापालाई २०७२ साल असोज ३ गतेको मन्त्रीपरिषदको निर्णय अनुसार लखन थापालाई प्रथम सहिद निर्णय घोषणा गरिएको छ।
राज्यको संपुर्ण श्रोत एकल पहिचानमा :

एकात्मक राज्यसत्ता हटेर संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल भैसकेको अवस्थामा पनि एकल जातिय एकल धर्मकै पक्षपोषणमा राज्य लागेको छ । दशैंको बेला नै टुडिखेलमा नेपाली सेनाले तोप पड्काएर हर्ष बढाई गरिन्छ । जुन कार्य यस अघि शाह बंशिय राजसंस्था हुन्थ्यो भने त्यसैको निरन्तरता हालसम्म पनि कायमै छ । त्यसैगरी राजाले टीका लगाईदिए जस्तै राष्ट्रपति टीका लगाईदिने प्रचलन निरंतरताले राजसंस्थाको धंधङी रहेको महसुस हुन्छ ।

यसपटक भने सांसदलाई दिने दशैं भत्ता कटौती गरेर एउटा क्रान्ति गरेको छ । वर्तमान अर्थमन्त्री जनार्दन शर्माले देशलाई ऋण बोकाएर सांसदलाई दशै भत्ता दिन सकिँदैन भनेर सार्वजनिक रुपमा उद्घोष नै गरेको छ।

राज्यले जसरी हिन्दु धर्मको चाडमा श्रोत साधन बितरण उपयोग गरिन्छ त्यसरी नै अन्य जाती समुदाय र धर्मावलम्बीको चाडपर्वमा पनि गर्नुपर्ने हो । त्यसरी विभेद गरिरहेका छन । एक दिन सार्वजनिक बिदा पाउदै आएको पनि केपि ओलिको सरकारले कटौती गरेपछि त संघीय लोकतान्त्रिक गणतन्त्रमा एकल जातिय नश्लबाद झनै हाबी भए । एकदिने सार्वजनिक बिदा कटौतीलाई पुनः निरन्तरता गराउन र शुभकामना माग गर्न नेपालका मुलबासी जो आफुलाई आदिवासी भनाउदाहरु यस अघि केपि ओलि सरकार समक्ष रोईकराई गरेर लम्पसार बनेका थिए ।तर एकल जातिय एमाले ओलि सरकारले भने कानमा तेल हालेर बसे । यहाँसम्म कि प्रदेश १ शेरधनको सरकारले लोसरको सार्वजनिक बिदा माग्न ज्ञापनपत्र बुझाउन गएकै वर्ष त शुभकामना समेत दिन कन्जुस्याइँ गरेका थिए । हाल शेरधन राई शेर्पाकै ज्वाईको रुपमा छ ।

दशैं चाडको बिरोध :
सरसर्ती बुझ्दा हेर्दा दशैँ चाडको बिरोध भएको जनमानसमा छ । तर यथार्थमा त्यस्तो होइन । तथ्य प्रमाणले पनि दशै जबर्जस्ति लादिएको र आफ्नै पुर्खालाई मारेर रगतको टीका लगाएको कुरा त राम्लिहाङ र रिदामाको हत्याले पनि बताउँछ । यहाँ भनाइ र प्रस्तुतिमा फरक पर्नसक्छ । दशैं लादिएपछी मान्दिनौ भनेर गरिएको देखाएको आक्रोश कुनै ब्यक्ति विशेषमाथी हुँदै होइन । यो आक्रोश राज्यले विभेद गरिएपछिको हो । एउटा छिमेकिले दशैँ मानिरहेको हुन्छ भने उस्लाई शुभकामना दिन सकिन्छ। सद्भाव देखाउन सकिन्छ । अरुको चाडपर्व पहिचानलाई सम्मान गर्नुपर्ने हुन्छ । अरुको अस्तित्वलाई स्वीकार गरेर सह अस्तित्वको भावनाले अगाडि बढ्नुपर्ने हुन्छ ।यदि यस्तो नहुँदो हो त यहाँ साम्प्रदायिक दंगा हुनेछ । तर त्यो साम्प्रदायिक भड्काउमा भने राज्य नै लागेको छ ।राज्यकै कारण नेपालमा धार्मिक साम्प्रदायिक युद्ध हुनसक्ने प्रवल संभावना छ।

नेपालमा प्राय सार्वजनिक बिदा तामझाम हिन्दु धर्मसंग सम्बन्धित चाडपर्वमा नै भएको छ । नेपालका मुलबासी जो आफुलाई आदिवासी भनेर चिनाउनेहरु हिन्दुको सबै चाडपर्वमा सरिक भएर सद्भाव देखाएर शुभकामना दिने व्यापक छ । हिन्दु आर्य भन्दा अगाडी नै उनिहरु हिन्दुको सबै चाडपर्व मानिदिएकै हुन्छ । तर तितो सत्य अनी यथार्थ एकातिर राज्यले विभेद गरेकै छ भने नेपालका अन्य जाती समुदायको अझ भनौ यहाँका मुलबासिको चाडपर्वमा सार्वजनिक रुपमा सद्भाव शुभकामना दिएको पाइदैन । चाहे त्यो ब्यक्ती होस चाहे त्यो सबैखाले संचार मिडिया नै किन नहोस चाहे त्यो संघसंस्था तथा निजि कम्पनी नै किन नहोस । सत्य कुरा त के भने हिन्दु आर्यको चाडपर्व सजिलै मनाईदिएको हुन्छ भने मुलबासी आदिवासीको चाडपर्वमा त हिन्दु आर्यका बिशिस्ट पाहुना बोलाउदा पनि प्राथमिकतामा नपारी न आउने गरेको घटना थुप्रै छ । त्यसैगरी कसको चाडपर्व केहो भन्ने समेत बेखवर हुन्छ । किनकी नेपालको शैक्षिक पाठ्यक्रममा समेत मुलबासिको बारे बिस्तृत रुपमा कुनै पनि पाठ राखिएको पाइदैन ।

निष्कर्ष :
नेपालको संविधान (२०७२) को प्रस्तावनामै नेपाल बहुजातीय,बहुभाषिक,बहुसांस्कृतिक भएको देश भनेर उल्लेख गरिएको छ । त्यसैगरी सामाजिक न्याय,समानुपातिक समाबेशी तथा समाजवाद उन्मुख भनिएको भए पनि ब्यबाहारमा भने एकल जातिय एकल धर्मको पहिचानलाई देशको सबै श्रोत साधन लगाएर संविधान भन्दा बाहिर गएर विभेद गरिएको छ । अन्य धर्म जाती समुदायको चाडपर्व पहिचानलाई एकात्मक राज्यसत्ताले निमिट्यान्न पार्न खोजेजस्तै संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि त्यही बिचार चिन्तन हावी भएको देखिन्छ ।

राज्यले संविधान कानुन अनुसार ब्याबहारमा सुधार नगरेको खन्डमा बिद्रोह हुदैन भन्न सकिन्न।दशै लगायत हिन्दु धर्मको चाडलाई जसरी सार्वजनिक बिदा राज्यको श्रोत साधन बितरण गरिए जस्तै अन्य जाती समुदाय धर्मावलम्बीको लागि पनि संविधानमा उल्लेख भए अनुसारको धर्म निरपेक्षलाई आत्मसात गरेर राज्यले कुनै धर्मलाई काखा कुनैलाई पाखा नगरीयोस ।धर्म निरपेक्षको अपब्याख्या तथा अवमुल्यांकन नगरियोस ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार