नेवारहरूको मौलिक पर्व मोहनी नखः – मनोहर शाक्य

नेपालका आदिवासी नेवारहरूले परापूर्वकालदेखि मान्दै आएका विभिन्न चाडवाड मध्ये हो मोहनी नखः अर्थात. दशैँ । यो चाडको विशेष महत्व छ । आफ्नै मौलिक विशेषताले भरिएको नेवारहरूको ठूलो चाड दशैँ मनाउने सन्दर्भमा विभिन्न किसिमका संस्कार र संस्कृतिले भरिपूर्ण भइरहेको देखिन्छ । १७औँ, १८औँ शताब्दी माग्रीक सभ्यतामा विकसित भएर पनि लोप भइसकेका देवदेवीका नाच नेपालको उपत्यकामा आजसम्म पनि देवी नाचका रूपमा सञ्चालन भइरहेकोछ । नेवारहरूले आश्विनशुक्ल प्रतिपदा देखि पूर्णिमासम्म दशैँ चाड मान्नेर विभिन्न देवी देवताको जात्रा पनि गर्दै आइरहेको पाइन्छ।
वाङ्गु लप्ते तुयु बजी हाकु मुस्या क्या मज्जा पालु छोय्ला द्यनेब्वया न्हिला ख्वालँ झन् बाँला । (हरियो लपस सेतो चिउरा कालो भटमास क्या मज्जा पिरो छोयला माथितिर राख्दा हाँसेको भावले झन् राम्रो) यो नेवारी गीतको धुनसँगै नेवार समुदायमा मोहनी नखः शुरु भएकोछ । हरियो पातको टपरीमा सेतो चिउरा, कालो भटमास देख्दा नै क्या मज्जा हुन्छ । त्यस माथि स–साना काटिएका अदुवाको टुक्रा र मासु चिउरा खान अगाडि बस्ने व्यक्तिको हँसिलो अनुहार झन् राम्रो छ ।
कला र संस्कृतिका धनी नेवार समुदायले कौलाथ्व प्रतिपदा देखि आफ्नो मौलिक चाड मोहनी नखः यसरी विशेष उल्लासका साथ मनाउँछ । विशेष मन्त्रोच्चारणका साथ घर घरमा नःलास्वाँ (जमरा) रोपिएपछि विधिवत् रुपमा मोहनी शुरु हुन्छ । यसलाई नेपालभाषामा नःला स्वनेगु (जमरा राख्ने काम) भनिन्छ। मोहनीमा अन्य चाडपर्वमा भन्दा छुट्टै विशेषता हुन्छ । महानवमीका दिन बज्रयानविधि अनुसार बज्राचार्य गुरुबाट विशेष मन्त्रोच्चारण गरी तयार पारिएको मोहनी सिन्ह (एक प्रकारको कालो टीका) को नामबाट मोहनी भएको विश्वास छ ।
वर्षभरि मनाइने थुप्रै चाडपर्वमा मोहनी नखः नेवार समुदायको सबैभन्दा ठूलो चाड हो । मोहनी नखः अन्तर्गत अष्टमीका दिन कुलछि (कुलका परिवार सदस्य) भ्वय, नवमीका दिन स्याक्व त्याक्व तथा चालँ हर्षाेल्लासका साथ सम्पन्न गरिसकेको नेवार समुदायले दशमी देखि पूर्णिमासम्म आफ्ना दिदीबहिनी तथा छोरीज्वाइँलाई नखत्या भ्वय (भोज) मा बोलाउनु पर्ने प्रचलन छ। मृत्यु भएका आफ्ना पूर्वज तथा देवदेवीलाई सर्वप्रथम भोज खुवाई शुरु हुने मोहनी पर्व दशमी देखि पूर्णिमासम्म दिदीबहिनी तथा छोरी ज्वाइँलाई भोज खुवाइसकेसँगै यस वर्षको मोहनी समाप्त हुन्छ।
कुचो, धारा, नाङ्लो, पानीको घडा, काम गर्ने ज्यावल, पुस्तक, कलम आदि समेतलाई पूजा गर्ने विशेष संस्कृति रहेको नेवार समुदायमा मोहनीका अवसरमा चामल, चिउरा, पुस्तक, ज्यावल आदिको पूजा गर्ने र पूजामा बुद्धको चैत्यको प्रतीक स्वरुप ‘ग्वःजा’ राखेर पूजा शुरु गर्ने प्रचलन छ ।
सूर्यवंशी राजालाई तलेजु भवानीले सपनामा दर्शन दिई “तिरहुत जङ्गलमा मेरो (तुलजा भवानी) मन्दिर बनाउनू” भन्ने आज्ञा भए अनुसार राजा नान्य देवले तुलजा भवानीको मन्दिर बनाएको हुँदा सोही स्मरणमा दशैँ मनाउने गरिएको हो भन्ने भनाइ पनि छ।
नेपाल संवत् ४४४ मा नान्य देवका सन्तान राजा हरिसिंह देवले नेपालमा राज्य गरेपछि भक्तपुरको तलेजु मन्दिर बनाएर तुलजा भवानीको पूजा गर्ने प्रचलन चलाएको इतिहास छ । राजा महेन्द्र मल्लका पालामा काठमाडौँको हनुमान ढोकामा तुलजा भवानीको मन्दिर बनाउन लगाइएको थियो । तुलजा भवानीमा बज्रयानी तान्त्रिक विधि अनुसार बज्राचार्य राजगुरुजुबाट पूजा सङ्कल्प गरेपछि कर्माचार्यबाट पूजा गर्ने परम्परा रहि आएको छ ।
जमरा राख्ने दसैँको पहिलो दिन घटस्थापनाका दिन जमरा राख्ने भन्दै घरै पिच्छे आगम (पूजाकोठा) मा खोलाबाट बालुवा ल्याएर चोखो गरेर मकै, गहुँ, जौ, तिल आदि राखेर जमरा रोप्ने गरिन्छ । वसन्तपुर दरबार हनुमान ढोका र विभिन्न टोलमा रहेका देव घरमा पनि जमरा राख्ने गरिन्छ।
नवरथ जानेः परापुर्वकाल देखि काठमाडौंमा वन रात्रिभर नवरथ जाने भनी धिमे र विभिन्न बाजा बजाएर प्रतिपदा देखि विभिन्न तीर्थमा गई स्थान गरेर विभिन्न देवताको दर्शन गर्छन । हाल उपत्यका देखि बाहिर रहेका नेवाः समुदायहरु पनि त्यहाँ रहेका विभिन्न शक्तिपिठ्हरुमा नवरथ गई देवताहरुको दर्शन गर्ने चलन चलि आएको छ । उपत्यका भित्र त अझैं पनि नवरथ जाने सन्दर्भमा प्रतिपदा देखि नवमीसम्म भक्तजनहरूले क्रमैसँग शंखमूलको शंकर तीर्थ–देवता श्री महालक्ष्मी, भचाखुसीको निर्मल तीर्थ – देवता दोला अजिमा, पचलीको पञ्चजाली तीर्थ – देगवता पचली भैरव, टोखाको मनोरथ तीर्थ – देवता इन्द्रायणी र मन मयजु पशुपतिको आर्यघाट तीर्थ देवता बद्धलादेवी, टेकु दोभानको चिन्तामणि तीर्थ–देवता सिकाली अजिमा, कंकेश्वरीको भवानी तीर्थ – देवता कंकेश्वरी र तलेजु भवानी, गुह्येश्वरीको शान्त तीर्थ देवता गुह्येश्वरीमा गएर नुहाएर विभिन्न देवीदेवताका दर्शन गर्छन । यसरी विभिन्न तीर्थमा जाने सन्र्दभमा नागराजहरूलाई पनि मानेर दर्शन गर्छन । यसरी मान्ने नागराजहरू मध्ये शंखपाल, अपलाल, तक्षक, भद्रपाल, सुन्दर, वरणपाल, बासुकी, वरुण, नन्द, अपनन्दर सोमसिकी नागराजहरू हुन । त्यस्तै, ललितपुर, भक्तपुर र विभिन्न स्थानमा पनि नवरथ जाने भनेर नेवारहरूले ९ ओटा तीर्थमा गई नुहाएर विभिन्न देवीदेताको दर्शन गर्छन् । प्रतिपदा देखि नवमीसम्म दाफा भजन पनि गाउँछन् । कान्ता दब दब अर्थात् डमरु ९ दिनसम्म बजाएर आगमनमा पूजा गर्छन् । दसैँ अवधिभरमा लश्री गीत गाउने र धुन बजाउने गरिन्छ । दुर्गा भवानीका विभिन्न रूपका देवीहरूलाई पूजा गर्ने सन्दर्भमा नवरात्रीको ९ रूप अनुसार शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्मान्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धीदात्री देवीको पूजा गरिन्छ ।
पचिमह्रः आश्विन शुक्ल पञ्चमीका दिन पचिमह्र भनेर काठमाडौंको पचली भैरवको जात्रा गरिन्छ । खड्गधारी भैरव, त्रिशूल, ढाल मुद्रा अंकित शिरमा भगवान् बुद्धको मुखाकृति अंकित भएको तामाको ठूलो घ्याम्पोलाई नै पचली भैरव भनी पूजा गरिने हो । पचली भैरवको जात्रा गर्दा घ्याम्पो भित्र भने जाँड, रक्सी भरी राखेर घ्याम्पोलाई बोकेर जात्रा गरिने हो । यो जात्रा दलाछि, बकंछें, यंगाल, जैशीदेवल, नायट् पाच्वको ज्यापूहरूले पालै पालो चलाउँदै आएका छन् । पचली भैरवको जात्रा गर्ने खलकहरूले दसैँमा जमरा राख्दैनन् । पचली भैरवको जात्रासँगै दसैँ चाड परेकोले दसैँ नमान्ने पनि छन् ।
कुछिभ्वय्ः आश्विन शुक्ल अष्टमीका दिन नेवारहरूले खाने भोजलाई कुछिभ्वय् भनिन्छ । यो दिन बिहानै समयवजी राखेर गणेश र घरको मूलढोका अगाडि कुमारलाई पूजा गरेपछि आगममा पूजा गर्दा आ–आफ्ना पेशा अनुसारका ज्वाबल पनि राख्छन् । तान्त्रिक मन्त्र अनुसार नेवाहरूले आगममा पूजा गर्दा खड्ग पनि पूजा गर्छन् । मोहनी टीका पनि पार्छन् । बेलुका घरका जहान परिवार सबै साथै बसेर कुछिभ्वय् खान्छन् । केराको पातमा पुरानो कुरुवामा कुलेचाले भरेर एक कुरुवा चिउरा राखेर भोज खाने गरेकाले यसलाई कुछि (करुवा) भ्यय् भन्ने गरिन्छ भने कसै कसैले कूल परिवार मात्र बसेर खाने भएकोले कुलछि भ्वय् पनि भन्ने गर्छन् । त्यस्तै कुछी भ्वय् – महाअष्टमीका दिन कुलछेँ अर्थात् मूल घरमा सम्पूर्ण परिवार जम्मा भई पञ्चतत्वको ज्ञानका साथै कुल देवता इष्टदेवता सहितको दर्शन ज्ञानमा आधारित क्रियात्मक पूजा गर्ने प्रचलन छ ।
स्याक्वत्याक्वः नवमीका दिन स्याक्वत्याक्व (सयेकुक्वत्यात) भनेर देवदेवीको पूजारा धना गरिन्छ । दशमीका दिन चाल (वाःचाल) मा पुनः विशेष पूजा गरी आगामी वर्षभरि गर्नै पर्ने काम गर्न, गर्नै नहुने काम भए गरेको भए प्रायश्चित गर्ने, राम्रो कामलाई निरन्तरता दिने आदि प्रणका साथ घरमूलीबाट मोहनी सिन्ह, नःलास्वाँ, अक्षताको रातो टीका प्रसादका रुपमा ग्रहण गर्ने चलन छ । स्याक्वत्याक्व (कालरात्री) आश्विन शुक्ल नवमी दसैँको मुख्य दिन हो । अष्टमी र नवमीको रात्रीलाई कालरात्री भनी देवीशक्तिको पूजा गरिन्छ । यो दिन नेवारी संंस्कृति अनुसार स्याक्वत्याक्व भनेर धन धान्य र अस्त्रशस्त्रको सधैँ स्थिर भएर रहन पाइयोस् भन्ने उद्देश्यले विभिन्न देवदेवीलाई कुखुरा, हाँस, बोका, राँगो बली दिइन्छ । यसका साथै गणेश र भैरवलाई पनि बली दिएर पूजा गरिन्छ । घरै पिच्छे आगममा पूजा गर्दा पनि नेवारी संस्कृति अनुसार चामल, चिउरा, घण्ट, साँचो, पुस्तक, कुटो कोदालोका साथै आ–आफ्ना पेश अनुसार सामग्री राखेर पूजा गरेर यो दिन माटोको भाँडोमा मोहनी टीका थाप्छन् । नेवारी संस्कार अनुसार मोहनी टीका थापेर तन्त्र साधना गर्ने दिन भएकोले नेवारीमा दसैँलाई मोहनी भन्ने गरिएको हो । यो दिन विभिन्न कलकारखाना, कार्यालय, पसल, मेसिन र सवारी साधनलाई पनि बलि दिएर पूजा गर्ने चलन छ । आगममा पनि बलि दिने चलन छ । यो दिन बसन्तपुर दरबारमा तलेजु भवानीलाई १ सय ८ सरकारी र अन्य गरेर हजारौँ राँगा, बोका बली दिने गरिन्छ ।
दशमीः दशमीका दिन घरै पिच्छे थकालीले विहान सबेरै चोखो नितो गरेर आगममा दसैँको पूजा गरेर फूल प्रसाद झिक्छन् । दसैँको फूल प्रसाद लिएर मोहनी गरिराखेको कालो टीका लगाएमा आगम देवताको देवत्व प्राप्त भएर सिद्धि पाइन्छ भन्ने मान्यता छ । थकालीले जहान परिवार सबैलाई क्रमैसँगै टीका लगाई दिएर फूल प्रसाद दिने गर्छ । सबैले पञ्चमकारको प्रसादका साथै देवीको प्रसाद समयवजी खाने गर्छन् । यो दिन रातो वस्त्र लगाएकी कुमारी, पहेँलो वस्त्र लगाएकी बसुन्धरा, सुन्तला रङको वस्त्र लगाएकी अजिमा देवी र नीलो वस्त्र लगाएका भैरवको पाया: निकालिन्छ । असनको पायाः भने एकादशीका दिन मात्र निकालिन्छ ।
कोजाग्रत पूर्णिमाः आश्विन शुक्ल चतुर्दशीका दिन काठमाडौंको श्रीधः विहारमा दीपावली गरिन्छ भने पूर्णिमाका दिन बेलुका कौसी र बुइँगलमा मत्र्य मण्डप बत्ती बालेर रात्रीमा घुम्न आउने महालक्ष्मीको पूजा गरिन्छ । बाँसको टुप्पामा आकाश दीप झुन्ड्याएर रातभरि जाग्राम बस्ने मौलिक परम्परा छ । पूर्णिमाको रातमा को को जाग्राम बसेका छन् भनी महालक्ष्मीदेवीले हेर्न आउने भएकोले यो पूर्णिमालाई कोजाग्रत पूर्णिमा भनिएको हो ।
शस्त्र त्याग दिवसः मौर्य सम्राट् चक्रवर्तीन्द्र राजा अशोकले भारतका विभिन्न राज्यमा युद्ध जित्दै गई अन्त्यमा कलिङ्ग विजयपछि धेरै मानिसको मृत्युपछि शस्त्र त्याग गरी बौद्धधर्म अँगालेको दिन विजया दशमीको दिन परेको थियो । यसैले बौद्धमागीले यस अवसरलाई शस्त्र परित्याग दिवसका रुपमा मान्ने गरेका छन् ।
मोहनी नखः नःला स्वाँपिये (रोप्ने) अर्थान् चन्द्रमासको अन्तिम महिना कौलाथ्व प्रतिपदाका दिन शरद ऋतुको प्रारम्भ देखि गुरु बज्रसत्वको आह्वान गरी मनाइने भएको बौद्ध विद्वानहरुको धारणा छ । दशैँको टीका देखि पूर्णिमाका दिनसम्म दसैँको टीका लगाउन नखत्या भोज खुवाउने नेवारी परम्परा छ । आफ्नो परिवार वा आफन्तसँग रहेको सम्बन्धलाई बलियो बनाइ राख्न यो दसैँ चाडलाई दैवी शक्तिको आशीर्वादका रूपमा नेवारहरूले मनाउँदै आइरहेको पाइन्छ ।
भोजको संस्कृतिका धनी नेवार समुदायमा मोहनी पर्व भोजमा नै केन्द्रित हुने गर्दछ । चालँ अर्थात (विजया दशमी) देखि आफन्तकहाँ मोहनी नखत्या (भोज) शुरु भई पुर्णिमासम्म निरन्तर रहन्छ ।
बज्रयान बौध्द धर्मअनुसार विशेष प्रकारको तन्त्र साधना गरी तयार पारिएको मोहनी सिन्ह (कालो टीका) को नामबाट मोहनी नखः भएको नेवाः समुदायमा जनविश्वास रहेकोछ । बज्रयान बौद्धधर्म अनुसार बुद्ध, धर्म र संघलाई स्मरण गरी नवमीका दिन विशेष प्रकारको मन्त्रोच्चारण सहित पूजा गरिने प्रचलन चलिएको मान्ने गरिन्छ ।
मोहनी नखः अन्तर्गत सप्तमीका दिन नेवार समुदायमा केही पनि गर्नुपर्दैन । पृथ्वीनारायण शाहले काठमाडौँ माथि विजय प्राप्त गरेपछि फूलपात्तिको प्रचलन नेपाल मण्डलमा शुरु भएको इतिहास रहेको पाइन्छ ।
अष्टमीका दिन नेवारहरुले घरघरमा कूछि भ्वय् (भोज) गरिन्छ । परिवारका सबै कुलका मानिसहरु जेष्ठता क्रममा बसेर भोज खाने भएकाले यसलाई कुछि भ्वय भनिएको हो । बज्र देवी सहित विभिन्न देवदेवीलाई पनि पूजा गरी भोज खुवाउनु पर्ने चलन छ । त्यस्तै, वितेका ज्ञातअज्ञात सबै पितृलाई सिकै ब्व राख्ने (पितृलाई भोज खुवाउने) गरिन्छ । कुलका सबैजना घरका मूलीदेखि जेष्ठता क्रम अनुसारसँगै बसेर भोज खाने भएकाले कुछि भ्वय भनिएको यो मोहनीको अत्यन्तै महत्वपूर्ण दिन रहेको धारणा समुदायहरुको मान्यता रहि आएको छ । थापना गरिएका देवदेवीसहित अष्टमीका दिन थापना गरिएको पुस्तक, तथा सर–सामानलाई पूजाआजा गर्नुका साथै भोज खुवाउने गरिन्छ ।
नवमी, जुन दिनलाई नेवारी भाषामा स्याक्व त्याक्व पनि भनिन्छ त्यस दिन मोहनि सिन्हः फयेगु (तयार) गरिन्छ । तन्त्रसँग सम्बन्धित मोहनि सिन्हः टीका लगाउनु नै मोहनि नखःको प्रमुख विशेषता हो ।
दशमीका दिन पुजा समापन गर्दै ठुलाबडाको हातबाट मोहनी सिन्ह (कालो टीका) लगाएर नःलास्वां (जमरा) लगाउने गरिन्छ । दशमीको दिन देखि मोहनी नखत्या सुरु हुने गर्दछ ।

मनोहर शाक्य, अध्यक्ष, नेवाः देय् दबू धरान

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार