अहं प्रश्न : माओवादी बन्ने कि प्रचण्डवादी कि आफैवादी – गोपाल किराँती

सुध्रन नसके माओवादी पार्टी विघटन जायज ठहर्ने, पद मात्र खोज्नेहरु एमालेमा जाउ, सांसदहरु प्रत्येकले मन्त्री खोजेर हैरान परेको जस्ता जुन मन्तव्य प्रचण्ड कमरेडले व्यक्त गरिरहेछन, रुपान्तरणको अपील हो भन्ने देखिन्छ। परन्तु, ती मन्तव्यहरु सार्वजानिक खपतका निम्ति अच्छा लाग्ने ठानिए पनि सिद्वान्तत: त्यसरी माओवादी कम्युनिस्ट पार्टीको रुपान्तरण सम्भव हुँदैन। रुपान्तरणका निम्ति सर्वप्रथम पार्टीमा श्रमिकवर्गीय दृष्टिकोण र चरित्रको ह्रास कसरी भयो, सो सम्बन्धमा वस्तुनिष्ठ समीक्षा जरुरत पर्छ। हामीलाई लाग्दछ, नयाँ राजनीतिक कार्यनीतिसाथ रणनीतिक प्रत्याक्रमणमा आएको माओवादी पार्टीको यो हविगत हुन पुग्नुमा निम्न कारण जिम्मेवार छन :

१. शान्ति सम्झौतायता एउटा पनि मार्क्सवादी वैचारिक स्कुलिङ नगर्नु,
२. कार्यकर्ताको सँस्थागत व्यवस्थापन योजना नल्याईनु,
३. पार्टी हैसियत दुरुपयोग गरेर सम्पति लुटपाट गर्ने नेताहरुलाई खुलेआम छुट दिनु,
४. निरन्तर क्रान्तिको सिद्वान्तमा मुख्यत: पार्टी केन्द्रीय समितिलाई सर्वहारावर्गीय आचारणतर्फ प्रबृत्त गराउने पहलकद्मी नलिनु,
५. रक्तसम्बन्ध प्राथमिकता देखिने अनेक घटनाहरु र,
६. माओवादवारे कुनै समीक्षा नगरी हठात् पार्टी र क्रान्तिको सिद्वान्त छाडेर एमालेका खड्गप्रसाद ओलीसंग मितेरी गाँस्न दौडनु नेपालमा माओवादी कम्युनिस्ट आन्दोलनका दु:खको प्रधान कारण हुन।

साउन ०७८ को केन्द्रीय समितिबाट प्रचण्ड प्रतिवेदनमा वैज्ञानिक समाजवादका लागि नयाँ विचार र क्रान्तिकारी पार्टी निर्माणको जुन कार्यभार प्रस्तावित गरिएको छ, त्यस निमित्त प्रचण्ड माओवादीले सर्वप्रथम महान सर्वहारा साँस्कृतिक रुपान्तरणको पार्टी दस्तावेज तयार गर्नु पर्छ र पार्टीपंक्तिमा वहशको घनिभूत अभियान सञ्चालन गर्नु पर्छ। देश सम्हाल्ने अपेक्षामा हो भने आफ्ना शुभेच्छुकहरुलाई समेत त्यस्तो दस्तावेजमा वहशको व्यवस्था गर्नु पर्छ। जसले, सामान्यत: राष्ट्रीय स्वाधीनता, पहिचान आधारित जनवाद र सामाजिक न्याययुक्त जनजीजिका र विशेषत: श्रमिकवर्ग, जाति, क्षेत्र, महिला र देशभक्तहरुको संयुक्त राज्यसत्ता निर्माणयोग्य कम्युनिस्ट पार्टी सुदृढ गर्न सकियोस्।

अहं प्रश्न

जनयुद्वकालीन जनादेश साप्ताहिकमा बाबुराम भट्टराईको लेख, जसको शीर्षक थियो- कार्यकर्तालाई माओवादी बनाउने कि स्टालिनवादी? माओवादी प्रत्यकले जान्नु पर्ने के भने सोभियत समाजवादका निर्माता जोसेफ स्टालिन ७० प्रतिशत महान क्रान्तिकारी थिए, ३० प्रतिशत चाहिँ यान्त्रीक ठहरिए। जसका कारण अन्तरपार्टी लाईनसंघर्षमा जघन्य कमजोरीहरु हुन पुगे। जसले, प्रतिक्रान्तिकारी ख्रूश्चेभहरुलाई जन्माउने गलत प्रबृत्तिको जग बसाल्यो, भनिन्छ। तर, बाबुराम भट्टराई बृत्त स्टालिनलाई त्यही बराबर प्रहार गर्दछ, जुन ख्रूश्चेभले गरेका थिए। यध्यपि, यहाँ माओवादवारे छलफल गरिन्दैछ। विषय बोध सहजताका निम्ति बाबुराम भट्टराई लेखको शीर्षक चर्चा गरिएको हो।

वस्तुत: माओ, माओवाद र माओवादीका तीन पदको अन्तर्सम्बधवारे सर्वप्रथम स्पष्टता जरुरी छ। माओ भनेको व्यक्ति अथवा मानिस हुन।चीनियाँ परम्परामा जातिनाम अघि तथा व्यक्तिनाम पछि लेख्ने प्रचलन अनुसार हान जातिभित्र माओ एउटा उप-जाति हो, जुन उप-जाति अन्तर्गत एक सन्तानको जन्म भयो, जसको व्यक्तिनाम नाम “त्सेतुङ” रह्यो। यसरी त्यस सन्तानको पूरा नाम “माओ त्सेतुङ” बन्न पुग्यो। जसले, विश्वक्रान्तिको सेवामा शानदार ढंगले चीनियाँ जनक्रान्तिको नेतृत्व गरे। क्रान्तिको सही नेतृत्वका लागि विचारको अर्थात मार्क्सवाद-लेनिनवादको विकास गर्नु पर्दथ्यो, सो कार्य माओ त्सेतुङ्ले गरे। माओले विकास गरेका सर्वभौम विचारहरुलाई “माओवाद” भनियो। माओवादलाई पथप्रदर्शक सिद्वान्त स्वीकार गर्नेहरुलाई “माओवादी” भनियो।

मार्क्सवादका तीन संघटक अंग छन। ती हुन: दर्शनशास्स्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद। यी तीनै अंगमा माओले सार्वभौम योगदान गरे। दर्शनशास्त्रमा अन्तर्विरोधको नियम, जसलाई विपरीतहरुवीच एकता र एकको दुईमा विभाजनको नियमका रुपमा बुझिन्छ। अर्थशास्त्रमा अर्ध-औपनिवेशिक/ नव-औपनिवेशिक मुलुकमा हुने दलाल तथा नोकरशाही पुँजीवाद र वैज्ञानिक समाजवादमा निरन्तर क्रान्ति अर्थात महान सर्वहारा साँस्कृतिक क्रान्ति नै माओका सार्वभौम सिद्वान्तहरु हुन। यसरी माओसम्म आईपुग्दा मार्क्सवादका पाँच आधारभूत सिद्वान्त निर्माण गरियो। जुन निम्न छन:

१. वर्गसंघर्ष र बल प्रयोगको सिद्वान्त,
२. राज्यसत्तामा सर्वहारावर्गको अधिनायकत्वको सिद्वान्त,
३. सर्वहारा अन्तर्राष्ट्रवादको सिद्वान्त,
४. संगठनमा जनवादी केन्द्रीयताको सिद्वान्त र
५. निरन्तर क्रान्तिको सिद्वान्त।

पार्टी सँस्कृतिमा “तीन गर” र “तीन नगर” को जुन विधि माओले विकसित गरेका छन, ती निम्न छन:

१. मार्क्सवाद लागू गर, संशोधनवाद होइन!
२. खुल्ला र स्पष्ट होउ, छलछाम र षडयन्त्र नगर!
३. एकतावद्व हौ, नफुट!

स्वत: स्पष्ट छ कि “मार्क्सवाद लागू गर” को पथप्रदर्शन यहाँ मार्क्सवाद-लेनिनवाद-माओवाद लागू गर्ने कुरासंग घनिष्ठ रुपले सम्बन्धित छ।

सिद्वान्त पक्डनेवारे माओको भनाई छ- “दह्रोगरी समात्नुस्। दह्रोगरी नसमात्नु भनेको अन्तत: नसमात्नु नै हो।”

नेपाली कम्युनिस्ट आन्दोलनको वस्तुगत एवं साँस्कृतिक समस्या यही हो कि मार्क्स, लेनिन र माओका वैज्ञानिक सिद्वान्तहरुलाई “दह्रोगरी समात्ने” गरिएको छैन। परिणाम, अग्लो रुखको टुप्पोबाट खसेर क्रान्तिकारी आन्दोलन भीरमा गुल्टिने गर्छ, देश र जनता एवं श्रमिकवर्ग संकटमा धकेलिन्छन।

संक्षिप्तमा, माओवादका उपरोक्त सिद्वान्तहरुलाई जीवनदर्शन मानेर क्रान्तिको सेवा गर्नेहरु नै “माओवादी” हुन। नाम मात्र जप्नेहरु तथा तीन गर्ने र तीन नगर्ने पथप्रदर्शनको उल्टो आचारण गर्नेहरु प्रगतिवादी साहित्यकार खगेन्द्र संग्रौलाको शब्दमा वस्तुत: “खाओवादी” हुन।

नयाँ विचारको विकास तथा क्रान्तिकारी पार्टी निर्माण गरेर वैज्ञानिक समाजवाद निम्ति लड्ने हो भने अहं प्रश्नको कसीमा राखेर नेकपा (माओवादी केन्द्र) का पदाधिकारीसहित कम्तिमा केन्द्रीय समितिलाई जाँच गर्नु पर्छ। कि कमरेड प्रचण्ड कति प्रतिशत माओवादी हुन र कति प्रतिशत आफैवादी छन, सो पत्ता लगाईनु पर्छ। केन्द्रीय समितिका सदस्य-पदाधिकारीहरु कति प्रतिशत माओवादी, कति प्रतिशत प्रचण्डवादी अनि कति प्रतिशत आफैवादी छन्, सो अनिवार्य पत्ता लगाईनु पर्छ।

दृष्टान्त के भने भूकम्पको विश्लेषण गर्दा त्यसको हाईपो सेन्टर र ईपी सेन्टरको हिसाब गरिन्छ। ईपी सेन्टर भूकम्पको बाह्य प्रदर्शित असर हो भने हाईपो सेन्टर त्यसको आन्तरिक केन्द्रीय तत्व हो। मार्क्सवादीहरु जसरी वस्तुको विकास वा बिनाशको मूल कारकतत्व आन्तरिक हुने विस्वास गर्दछन, ठिक त्यसरी नै भूकम्पको हाईपो सेन्टरको गुणले ईपी सेन्टरको क्षेति निर्धारण गर्दछ। वैज्ञानिक समाजवादका निम्ति क्रान्ति भनेको एक महादेशीय भूकम्प हो भने त्यसको हाईपो सेन्टर पार्टी केन्द्रीय समिति हो। प्रश्न छ, के प्रचण्ड माओवादीको केन्द्रीय समितिमा महादेशीय भूकम्प ल्याउन सक्ने सर्वहारा हाईपो सेन्टर छ? अथवा त्यो केन्द्रीय समितिमा त्यस स्तरको हाईपो सेन्टरको गुण छ? अथवा त्यस्तो गुण आर्जनको सम्भावना बाँकी छ? सकारात्मक उत्तरका निम्ति मार्क्सवाद-लेनिनवाद-माओवादको बोध एवं कठोर आत्मालोचनासहित देश, जनता र श्रमिकवर्गप्रति दृढ ईमानदार हुन सक्नै पर्छ। र, ईमानदारहरु मात्र वैज्ञानिक बन्न सक्ने र वैज्ञानिक सँस्कृतिले मात्र जनक्रान्ति उठान गर्न सक्ने इतिहासशिद्व तथ्य सर्वत्र स्थापित गर्न सक्नै पर्छ।

२०७४ मा, एमालेकरणको दुर्घटनामा साथीहरुले अपनाएको रुख हेर्दा नेकपा (माओवादी केन्द्र) मा माओवादी कोही थिएनन्, बरु आधा प्रचण्डवादी र आधा आफैवादी थिए,भन्ने तथ्याङ्क प्रष्ट देखिएको हो। अन्यथा हजारौं सहिदको रगतद्वारा स्थापित माओवादको विज्ञान र माओवादी पार्टी त्यत्ति सजिलै त्यागेर जाने कुरा सोंच्नै सकिन्दैनथ्यो। परन्तु, त्यसो हुन पुग्नुको अन्तर्यमा त्यही उपरोक्त “६ वटा कारण” जिम्मेवार थिए। जसको सैद्वान्तिक एवं व्यवहारिक निवारण-प्रत्याभूति पार्टी निर्माणको प्राथमिक शर्त बन्न आएको छ।

पार्टीको ५० प्रतिशत कार्यकर्ता प्रचण्डवादी बन्न पुग्दा कम्युनिस्ट चरित्रको आन्दोलन र विशेषत: कमरेड प्रचण्डलाई के कति लाभ पुग्यो? सो समीक्षाको कसीमा जाँचिनु पर्छ। तर, माओवाद भन्दै ५० प्रतिशत प्रचण्डवाद तथा ५० प्रतिशत आफैवाद (निम्न-पुँजीवादी व्यक्तिवाद) तर्फ लम्पट चरित्रले उत्पन्न गरिरहेको संकट नै पार्टी विघटनका अभिव्यक्ति हुन, भनेर सहजै बुझ्न सकिन्छ।

अन्त्यमा, केन्द्रीय समितिका प्रत्यक सदस्यले कठोर आत्मसमीक्षा गर्दै माओवादलाई दह्रोगरी पक्डेर सर्वहारा साँस्कृतिक रुपान्तरणको सामुहिक संकल्पसाथ देश, जनता र श्रमिकवर्गको हितमा निजी सम्पति लोभ त्यागेर जनसमुदायमाझ जाने आँट गर्दा कमरेड प्रचण्डको नेतृत्वमा एक पटक महादेशीय भूकम्पको हाईपो सेन्टर खडा गर्न सकिने अपेक्षा बढ्छ। त्यस निमित्त एघार विशेषताको नेपाली समाजवादको कार्यक्रम स्वीकार गरि अघि बढ्न र ब्रम्हाण्डीय विचारधाराको मार्क्सवादवारे वहश उद्घाटन गर्न तत्पर रहने हो भने नयाँ विचार र क्रान्तिकारी पार्टी निर्माणको प्रस्ताव हुँदै नेपाली जनक्रान्तिले विश्व कम्युनिस्ट आन्दोलनमै नयाँ आयाम विकसित गर्न अनिवार्य सकिन्छ ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार