अन्तरिम संविधानको मर्म र भावना बिपरित र छिमेकी देशले नस्विकारेको संविधान

असोज ३, धरान । जनता समाजवादी पार्टी दस जोड एकले वर्तमान २०७२ को संविधान अन्तरिम संविधानको मर्म र भावना बिपरित रहि पश्चगामी संविधान भएको जनाएको छ ।

जनता समाजवादी पार्टी दस जोड एक राष्ट्रिय समितिले असोज ३ गते संविधान जारी गरिएको दिन संयुक्त रुपमा प्रेस बिज्ञप्ति जारी गर्दै वर्तमान संविधान अन्तरिम संविधानको मर्म बिपरित उत्पीडित जनताको बिपरित रहेको उल्लेख गरिएको छ । जनता समाजवादी दस जोड एक अनतर्गत लिम्बुवान, किरात, शेर्पालुङ, मधेस, ताम्सालिङ, नेवाः, शिल्पी, तमुवान, मगरात, खसान, थरुहट राष्ट्रिय समिति रहेका छन । संयुक्त प्रेस बिज्ञप्तिमा २०६२÷६३ सालको जनआन्दोलनको मुल मर्म पहिचान सहितको संघीयता, समानुपातिक समावेशी, समानता, गणतन्त्र र धर्मनिरपेक्षता नै रहेको उल्लेख छ ।अन्तरिम संविधान २०६३ नेपालको संवैधानिक ईतिहासमा बनेको संविधान मध्ये उत्पीडित, उपेक्षित तथा बहिस्कृत आदिवासी जनजाती, शिल्पी /दलित, मधेसीहरुका लागि उत्कृष्ट संविधान भएको जनाएको छ । त्यसैगरी पहिलो संविधान सभाबाट पास भएका सबै सवालहरु दोस्रोमा समावेश गर्ने ब्यवस्था थियो । ती सबै विधि, प्रकृया तथा ब्यवस्थाहरुलाई कुल्चदै, विभिन्न आन्दोलनकारीहरु र नेपाल सरकार बीच भएका सहमति तथा सम्झौताहरुलाई लत्याउदै, सरकारका सबै अंगहरु दुरुपयोग गर्दै दोस्रो संविधान सभाबाट २०७२ असोज ३ गते संविधान जारी गरेको आरोप लगाएको छ ।

२०७२ को संविधानलाई छिमेकी देश भारत लगायत अमेरिका, युरोपियन युनियनले समेत यो संविधानप्रती असहमत जनाएका थिए । सयौं आन्दोलनकारीहरुलाई हत्या गरेर बन्दुकको नालबाट जबर्जस्त संविधान जारी गरेको जनाएको छ । बिग्यप्तिमा वर्तमान संविधान संशोधन वा पुनर्लेखन गर्नु पर्दछ भन्ने जोडदार माग गर्दछ भनिएको छ ।

     प्रेस विज्ञप्ती
नेपाली जनताको लामो संघर्ष र बलिदान पश्चात ईतिहासमा पहिलो पटक वि.स. २०६४ सालमा संविधान सभाको निर्वाचन सम्पन्न भयो । २०६२÷६३ सालको जनआन्दोलनको मुल मर्म पहिचान सहितको संघीयता, समानुपातिक समावेशी, समानता, गणतन्त्र र धर्मनिरपेक्षता नै थियो । तर केपी ओलि नेतृत्वको सरकारले यी सबै मुद्दाहरुलाई समाप्त गर्ने षडयन्त्र गर्दै आएका कारण उनी सिंहदरबारदेखि बालकोट थन्किन पुगे । नेपालको अन्तरिम संविधान २०६३ नेपालको संवैधानिक ईतिहासमा बनेको संविधान मध्ये उत्पीडित, उपेक्षित तथा बहिस्कृत आदिवासी जनजाती, शिल्पी /दलित, मधेसीहरुका लागि उत्कृष्ट संविधान थियो । यो संविधान तत्कालिन समयमा सबैले स्वागत गरेका थिए । तर यो संविधानलाई नै समाप्त पार्न देशका अमुख दलका प्रमुख नेताहरुले विधि तथा प्रकृया मिचेर षडयन्त्रका साथ संविधान सभा नै भङ्ग गरे । पहिलो संविधान सभाबाट पास भएका सबै सवालहरु दोस्रोमा समावेश गर्ने ब्यवस्था थियो । ती सबै विधि, प्रकृया तथा ब्यवस्थाहरुलाई कुल्चदै, विभिन्न आन्दोलनकारीहरु र नेपाल सरकार बीच भएका सहमति तथा सम्झौताहरुलाई लत्याउदै, सरकारका सबै अंगहरु दुरुपयोग गर्दै दोस्रो संविधान सभाबाट २०७२ असोज ३ गते संविधान जारी गरे । असोज ३ गते जारी भएको संविधानलाई मधेस, लिम्बुवान, थरुहट, तमुवान, आदिवासी जनजाति, शिल्पी, महिला, खस आदिको शसक्त आन्दोलनले अस्वीकार गर्यौ । यति मात्र होइन छिमेकी देश भारत लगायत अमेरिका, युरोपियन युनियनले समेत यो संविधानप्रती असहमत जनाएका थिए । सयौं आन्दोलनकारीहरुलाई हत्या गरेर बन्दुकको नालबाट जबर्जस्त संविधान जारी गरे । राज्यको पुनर्संरचनाको नाममा प्रदेश नं.२ बाहेक सबै प्रदेशमा प्रभुत्वसालीहरुको बाहुल्य अर्थात एकल जातिय वर्चस्व हुने गरी कथित सात प्रदेशको निर्माण गरेका छन् । संघीयताको नाममा तत्कालीन पाँच विकास क्षेत्रलाई सिर्फ सात वटा क्षेत्र बनाएर पुनर्संरचना भएको हो भनि छल गरिएको छ । संविधानका धेरै धाराहरु आदिवासी, मधेशी, शिल्पी /दलित तथा महिला विरोधि छन् । यो संविधान विभेदकारी, अधुरो, अपुरो एवम् त्रुटीपूर्ण छ । नेपालको संविधान २०७२ ले मधेशी, आदिवासी जनजाति, शिल्पी/दलित , महिला, खस, मुस्लिम, थारु, अल्पसंख्यक समुदायहरुका साथै उत्पीडित जातजाति एवम् समुदायहरुले उठाउँदै आएका राष्ट्रिय मुद्दाहरुलाई सम्वोधन गर्न सकेको छैन । नेपालको संविधान २०७२ जारी भएको दिनदेखि हामीले निरन्तर विरोध गर्दै आएका छौं । नेपालको संविधानले जारी हुँदै द्वन्द्वको बिउ रोपेको छ । असोज ३ गते देश निर्माण गर्ने, परिवर्तनकारी नयाँ युगका आवाजहरुलाई षडयन्त्र पुर्वक दबाएको दिन हो । नेपालको संविधान विभेदकारी, अधुरो, अपुरो एवम् त्रुटीपूर्ण भएकोले जसपा, नेपाल १० प्लस १ राष्ट्रिय समितिहरु (लिम्बुवान, किरात, शेर्पालुङ, मधेस, ताम्सालिङ, नेवाः, शिल्पी, तमुवान, मगरात, खसान, थरुहट) नेपालको संविधान २०७२ संशोधन वा पुनर्लेखन गर्नु पर्दछ भन्ने जोडदार माग गर्दछ ।

संघीय अभिवादन । जय मातृभुमी ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार